मुगु । लामो समयदेखि अनियमित सेवाका कारण आलोचना खेप्दै आएको नेपाल वायुसेवा निगमले मुगुमा आफ्नो उडान सेवा नियमित गर्न थालेपछि स्थानीयवासीलाई राहत मिलेको छ । हाल निगमले सातामा चार दिन उडान सञ्चालन गरिरहेको छ। नेपाल एयरलाइन्स रारा ताल्चा विमानस्थलका स्टेसन इन्चार्ज नवीनकुमार विष्टका अनुसार गत फागुनको अन्तिम सातादेखि नेपालगन्जबाट आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार नियमित उडान सुरु गरिएको हो । साथै बिहीबार सुर्खेतबाट पनि ताल्चा विमानस्थलसम्म उडान सञ्चालन भइरहेको छ ।
नियमित उडानको व्यवस्था भएपछि विशेषगरी आकस्मिक उपचारका लागि बाहिर लैजानुपर्ने बिरामीलाई ठूलो राहत पुगेको स्थानीयहरूले बताएका छन् । समयमै जहाज नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था समेत देखिएकोमा अब त्यस्तो समस्या कम हुँदै गएको छायानाथ रारा नगरपालिका–४ का स्थानीय महेन्द्र भामले बताए । रारातालजस्तो प्रसिद्ध पर्यटकीय गन्तव्यमा पुग्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि अहिले यात्रा सहज बनेको छ । स्थानीय युवा अनिल बानियाँका अनुसार दुर्गम क्षेत्रका नागरिकको सहजताका लागि गरिएको लामो पहलपछि नियमित उडान सम्भव भएको हो ।
नेपाल एयरलाइन्स नेपालगन्जका क्षेत्रीय प्रबन्धक यमराज सिंहका अनुसार कर्णाली क्षेत्रमा निरन्तर सेवा दिन नेपालगन्जमै एउटा जहाज राखिएको छ । यसअघि हप्तामा दुई पटक मात्रै उडान हुने ताल्चा विमानस्थलमा अहिले निर्धारित तालिकाअनुसार नियमित सेवा सञ्चालन भइरहेको छ । उनका अनुसार जहाजको नियमित मर्मतसम्भारका लागि हरेक शुक्रबार काठमाडौँ पठाइने र आइतबार पुनः नेपालगन्ज फर्काइने व्यवस्था मिलाइएको छ । यस व्यवस्थाले हिमाली जिल्लाहरूमा हवाई सेवा थप व्यवस्थित र भरपर्दो हुने अपेक्षा गरिएको छ ।









