हुम्ला । जिल्लामा पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको राष्ट्रिय खोप तथा पोषण अभियान भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी समयमै नपुग्दा प्रभावित भएको छ । आवश्यक औषधी समयमै उपलब्ध नहुँदा अभियानका स्वास्थ्य सेवा प्रवाह अवरुद्ध भएको हो । चङ्खेली गाउँपालिका स्वास्थ्य संयोजक सुरवीर शाहीका अनुसार अभियानका लागि अत्यावश्यक भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी समयमा नआउँदा दुर्गम बस्तीमा सेवा प्रवाह गर्न समस्या भएको छ । उनका अनुसार औषधी ढिलाइका कारण बालबालिकाले पाउनुपर्ने आधारभूत पोषण तथा स्वास्थ्य सेवा अवरुद्ध भएको छ भने यसले दीर्घकालीन स्वास्थ्य जोखिम समेत बढाएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले भने दुर्गम भौगोलिक अवस्था, ढुवानी चुनौती र व्यवस्थापन कमजोरीका कारण समस्या दोहोरिएको बताए । उनका अनुसार नीतिगत सुधार, पूर्वतयारी र समन्वयमा कमजोरी हुँदा यस्ता राष्ट्रिय अभियानहरू प्रभावित भइरहेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार कर्णाली प्रदेश औषधी आपूर्ति केन्द्रबाट ढिलाइ भएपछि समस्या उत्पन्न भएको हो । उनले वैशाख छ र सात गते देशभर एकैसाथ सञ्चालन हुने अभियानका लागि आवश्यक औषधी कम्तीमा एक हप्ता अघि नै सम्बन्धित स्वास्थ्य संस्थामा पुगिसक्नुपर्ने व्यवस्था भए पनि यस पटक वैशाख चार गते मात्र आपूर्ति भएको जानकारी दिए ।
ढिलाइ भएका औषधी अझै ढुवानी प्रक्रियामै रहेकाले जिल्लाका सबै स्थानीय तहमा समयमै वितरण गर्न नसकिएको उनले बताए । दुर्गम भौगोलिक अवस्थाका कारण ढुवानी व्यवस्थापन पनि थप चुनौतीपूर्ण बनेको र सबै स्वास्थ्य संस्थामा औषधी पु¥याउन कठिनाइ भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अधिकारीहरूले सबै स्वास्थ्य संस्थामा औषधी आपूर्ति र ढुवानी पूरा भएपछि मात्र जिल्लामा पुनः अभियान सञ्चालन गरिने बताएका छन् । बालबालिकाको जीवनसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील कार्यक्रम समयमा प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने स्थानीयवासीले माग गरेका छन् ।









