२०८३ वैशाख ८ , मंगलबार

श्रीनगरमा बसपार्क उद्घाटन हुँदै, नगरपालिकाले दियाे सार्वजनिक बिदा



सल्यान ।  सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा निर्माण सम्पन्न भई हाल सञ्चालनमा आइसकेको आधुनिक बसपार्क यही बुधबार औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । शारदा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको उक्त बसपार्क उद्घाटनको अवसरमा नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सोमबार बसेको शारदा नगरपालिकाको ६४औँ कार्यपालिका बैठकले बसपार्क उद्घाटन कार्यक्रमलाई विशेष महत्त्व दिँदै सो दिन नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गत पुस महिनादेखि नै बसपार्क आंशिक रूपमा सञ्चालनमा आइसकेको छ । हाल साना, ठूला तथा छोटो र लामो दूरीका सबै प्रकारका सवारीसाधनहरू बसपार्कभित्रबाटै सञ्चालन हुँदै आएका छन् । यसअघि बजार क्षेत्रका सडक तथा फुटपाथमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका पसल तथा व्यवसायहरूलाई समेत बसपार्कभित्र व्यवस्थित रूपमा स्थानान्तरण गरिएको छ । बसपार्क सञ्चालनको जिम्मेवारी टेन्डर प्रक्रियामार्फत जय बागेश्वरी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, शारदा नगरपालिका–२ लाई दिइएको छ । सम्झौताअनुसार उक्त कम्पनीले शारदा नगरपालिकालाई वार्षिक करिब ५२ लाख रुपैयाँ राजस्व बुझाउनेछ ।

नगरपालिकाले बसपार्क सञ्चालनपछि आन्तरिक आम्दानी वृद्धि हुनुका साथै सेवाग्राहीलाई सहज र व्यवस्थित यातायात सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ । आर्थिक वर्ष २०८०/०८१ बाट निर्माण सुरु गरिएको बसपार्क करिब सात हजार वर्गमिटर क्षेत्रफलमा सरकारी ऐलानी जग्गामा निर्माण गरिएको हो । करिब दुई वर्षको अवधिमा निर्माण सम्पन्न भए पनि केही प्राविधिक तथा प्रशासनिक कारणले औपचारिक उद्घाटन र पूर्ण सञ्चालनमा ढिलाइ भएको बताइएको छ ।

बसपार्क क्षेत्रमा दुईवटा १७/१७ कोठे व्यापारिक भवन निर्माण गरिएका छन्, जसअन्तर्गत ३५ वटा व्यापारिक स्टल र ३४ वटा सटर रहेका छन् । साथै सार्वजनिक शौचालय, मुख्य गेट, पार्किङ स्थल, फुटपाथ र नाला लगायतका पूर्वाधार संरचनाहरू पनि निर्माण गरिएका छन् । नेपाल सरकार र कर्णाली प्रदेश सरकारको साझेदारीमा निर्माण गरिएको यो बसपार्कले श्रीनगर बजार क्षेत्रको यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने, भीडभाड घटाउने र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार