२०८३ वैशाख ९ , बुधबार

बर्षाै देखि टहरामै पढ्न बाध्य हुम्लाका विद्यार्थी



हुम्ला ।  हुम्लाको अदानचुली गाउँपालिका–६ स्थित पाल्स गाउँको कैशालपुरी माध्यमिक विद्यालयका विद्यार्थी विगत एक वर्षदेखि अस्थायी टहरामा अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयको पुरानो जीर्ण भवन भत्काइएपछि नयाँ भवन निर्माण नहुँदा जस्तापाताले बनेका टहरामा कक्षा सञ्चालन भइरहेको हो । अभिभावक गणेश बोहराका अनुसार विद्यार्थीहरू जोखिमपूर्ण अवस्थाबाट जोगाउन पुराना भवन भत्काइए पनि विकल्पका रूपमा बनाइएको टहरा दीर्घकालीन समाधान बन्न सकेको छैन ।

बच्चाहरूलाई सुरक्षित वातावरणमा पढाउन खोज्दा अहिले झन् असुविधा भोग्नुपरेको छ  उनले बताए । विद्यालयका प्रधानाध्यापक दलबहादुर बुढाले नयाँ भवन निर्माणका लागि पहल गरिए पनि हालसम्म कुनै निकायबाट सुनुवाइ नभएको गुनासो गरे । उनका अनुसार हाल बालविकासदेखि कक्षा आठ सम्मका विद्यार्थी टहरामै अध्ययन गर्छन् भने कक्षा नाै र १० का विद्यार्थी अर्को जीर्ण भवनमा पढिरहेका छन् ।

विद्यालयको कार्यालयसमेत जोखिमपूर्ण भवनमै सञ्चालन भइरहेको छ । टहरामा पढ्दा वर्षायाममा पानी चुहिने, हिउँदमा चिसो र गर्मीयाममा अत्यधिक तापको समस्या झेल्नुपर्ने अवस्था छ । यसले विद्यार्थीको सिकाइ वातावरणमा नकारात्मक असर पारेको शिक्षक तथा अभिभावकको भनाइ  छ। विद्यालयमा हाल तिन सय २२ जना विद्यार्थी अध्ययनरत छन् । सुरक्षित र व्यवस्थित शैक्षिक वातावरणका लागि नयाँ भवन निर्माणको काम तत्काल अघि बढाउन स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार