२०८३ वैशाख ९ , बुधबार

आँखा शिविरबाट एक सय २२ ले लिए लाभ



जुम्ला ।  ४५औँ निःशुल्क आँखा शिविरबाट १२२ जना बिरामीको दृष्टिमा सुधार आएको छ । शिविर नेपाल नेत्रज्योति संघअन्तर्गत चन्दननाथ आँखा अस्पतालको आयोजनामा, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा रिड्ले आई फाउण्डेशनको आर्थिक सहयोगमा सम्पन्न भएको हो । जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरमा पाँच सय ४० जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ६१ जनालाई शल्यक्रियाका लागि छनोट गरिएकोमा थप बिरामीसहित कुल एक २२ जनाको मोतिविन्दुको सफल शल्यक्रिया गरिएको चन्दननाथ आँखा अस्पतालका आई वर्कर सुपरभाइजर दलबहादुर महताराले जानकारी दिए ।

त्यसैगरी, जुम्ला सदरमुकाममा वैशाख पाँच  देखि  सात गतेसम्म सञ्चालन गरिएको अर्को शिविरमा पाँच सय ४६ जनाको आँखा परीक्षण गरिएको थियो । उक्त शिविरमा दुई सय ५० जनालाई पढ्न–लेख्न सहज हुने रिडिङ्ग ग्लास (चस्मा) वितरण गरिएको छ । नेत्र विशेषज्ञ डा. विक्रम अधिकारीको नेतृत्वमा रहेको टोलीले मोतिविन्दुको शल्यक्रिया सम्पन्न गरेको हो ।

अस्पतालका सभापति जगदीश चौलागाँईका अनुसार हरेक वर्ष यस्ता शिविर सञ्चालन गर्दै आइएको छ । उ गत कात्तिक महिनामा सिँजा क्षेत्रको नराकोट तथा जुम्ला सदरमुकाममा पनि यस्तै शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। शिविरमा बिरामी दर्ताका लागि ५० रुपैयाँ शुल्क लिइएको थियो । सामाजिक सेवामार्फत दुर्गम क्षेत्रका मोतिविन्दुका बिरामीलाई सहज र सुलभ उपचार उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिँदै आएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार