जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका र सुर्खेतको बराहताल गाउँपालिकाबीच स्थानीय उपजमा आधारित अर्गानिक दिवा खाजा कार्यक्रमसम्बन्धी सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । बराहताल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहितको टोली तातोपानी पुगेर सफल अभ्यासबारे अध्ययन गरेको हो । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका स्थानीय उत्पादनमा आधारित अर्गानिक दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने पहिलो पालिका बनेको छ ।
पालिकाका २९ वटै सामुदायिक विद्यालयमा बालबालिकाको विद्यालय पहुँच बढाउने र पोषण सुधार गर्ने उद्देश्यले कार्यक्रम लागू गरिएको हो । हाल तातोपानीमा आधारभूत तहका करिब २ हजार पाँच सय ८५ विद्यार्थी यस कार्यक्रमबाट लाभान्वित भएका छन् । यसअघि अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएको दिवा खाजालाई तातोपानीले व्यवस्थित बनाउँदै नमुना भान्साघर निर्माण, भाँडावर्तन उपलब्ध गराउने र कर्मचारीलाई तालिम दिने कामसमेत गरेको छ ।
स्थानीय सहकारीमार्फत किसानबाट कृषि उपज संकलन गरी विद्यालयमा आपूर्ति गरिँदै आएको छ, जसले स्थानीय उत्पादनको बजार सुनिश्चित गर्नुका साथै किसानको आम्दानी वृद्धि गर्न सहयोग पुगेको छ। यस कार्यक्रमले कृषिमा संलग्न हुन स्थानीयलाई थप प्रेरित गरेको छ । अर्गानिक दिवा खाजा कार्यक्रम तातोपानीको पहिचानकै रूपमा स्थापित हुँदै गएको छ । यही कारण विभिन्न पालिका तथा संस्थाहरू यहाँका सफल अभ्यास अध्ययन गर्न आउने गरेका छन् ।
बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले तातोपानीको प्रयास कर्णालीका अन्य पालिकाका लागि अनुकरणीय रहेको बताए । यस्तै, तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले शैक्षिक सुधारलाई प्राथमिकता दिँदै अर्गानिक दिवा खाजा कार्यक्रमलाई अझ व्यवस्थित र दिगो बनाउने योजनामा रहेको जानकारी दिए ।









