२०८३ वैशाख ११ , शुक्रबार

बालबालिकाको क्षेत्रमा बजेट वृद्धि



सुर्खेत ।  कर्णाली प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा लगानी बढाउँदै लगेकाे देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले कुल बजेटको पाँच प्रतिशतभन्दा बढी हिस्सा बालबालिकाको क्षेत्रमा विनियोजन गरेको छ, जुन विगतका वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो । बालविवाहविरुद्धको अभियान (सिसिआर) कर्णाली प्रदेशले प्रदेश सरकारसँगको समन्वयमा गरेको तीन आर्थिक वर्षको बजेट विश्लेषणले यस्तो तथ्य देखाएको हो। यसअनुसार विगतमा बालबालिकाको क्षेत्रमा बजेट झण्डै दुई प्रतिशतमा सीमित थियो ।

विश्लेषण अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले पुँजीगततर्फ विनियोजन गरेको १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार बजेटमध्ये ४९ करोड ४१ लाख ३३ हजार अर्थात् २.५२ प्रतिशत बालबालिकाको क्षेत्रमा छुट्याइएको थियो । त्यसैगरी अर्को आर्थिक वर्षमा १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार पुँजीगत बजेटमध्ये ५८ करोड ९६ लाख ३५ हजार अर्थात् ३.१४ प्रतिशत बजेट बालबालिकाका लागि विनियोजन गरिएको थियो । चालु आर्थिक वर्षमा भने यो हिस्सा बढेर एक अर्ब ७२ करोड ९८ लाख ७४ हजार अर्थात् ५.२४ प्रतिशत पुगेको छ ।

सिसिआर कर्णाली प्रदेशका कार्यकारी निर्देशक टेकराज आचार्यका अनुसार विगतमा न्यून बजेट छुट्याउने प्रवृत्ति भए पनि पछिल्ला वर्षहरूमा सुधार देखिएको छ । उनले  बजेट विश्लेषण गर्दा बालअधिकारसँग सम्बन्धित विभिन्न क्षेत्रलाई समेटिएको र विद्यालय पूर्वाधार निर्माणलाई समेत बालबालिकाको क्षेत्रमा गरिएको लगानीका रूपमा गणना गरिएको जानकारी दिए । यसैबीच, सिसिआर कर्णालीले हालै आयोजना गरेको कार्यक्रममा बालबालिकामा लगानी नगरी समृद्धि हासिल गर्न नसकिने निष्कर्ष निकालिएको छ । सहभागीहरूले संघ, प्रदेश र स्थानीय तहका सरकारले बालमैत्री योजना तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार