नेपाल प्रहरीले वीरेन्द्रनगरमै भर्ना छनोट अन्र्तगतका परिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि कर्णाली प्रदेश प्रहरीको मातहतमा रहेको नेपालगञ्ज स्थित तालिम केन्द्रमा छनोट कार्यक्रम राखिएको थियो ।
कर्णाली प्रदेश प्रहरीको मातहतमा रहेपनि कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेतलाई लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालनमा रहेको छ । हालसम्म प्रहरी भर्ना छनोटका लागि नेपालगञ्जबाट नै सेवा दिईरहेको कार्यालयले हाल वीरेन्द्रनगरमा नै छनोट परिक्षाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
कर्णाली प्रदेशका १० वटै जिल्ला र रुकुम पूर्व, बाँके, बर्दिया लगायतका जिल्लाका उम्मेदवारहरुका लागि सहज हुने बताउदै कर्णाली प्रदेश प्रहरीले वीरेन्द्रनगरमा नै परिक्षा सञ्चालन गर्ने जनाएको छ ।
मंसिर २१ गते सूचना प्रकाशित गर्दै नेपाल प्रहरीले प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी तर्फ कुुल एक हजार दुई सय २३ जना माग गरेको हो । यसमा प्रहरी जवान (जनपद) तर्फ एक हजार एक सय ६५, प्रहरी कार्यालय सहयोगी (भान्छे) तर्फ ४७ र प्रहरी कार्यालय सहयोगी कुचीकार तर्फ ११ जना माग गरिएको छ । यि पदहरुमा महिला तर्फ क्रमशः एक सय तीन, पाँच र एक जना माग गरिएको हो ।
पञ्चपुरी–७ मा तालिम केन्द्रको योजना
यसअघि कर्णाली प्रदेश प्रहरीको तालिम केन्द्रका लागि भेरीगंगा, पञ्चपुरी र वीरेन्द्रनगरमा जग्गाको खोजी गरिएको थियो । तालिम केन्द्रका लागि १० विगाह जग्गा आवश्यक पर्छ ।
हाल भने पञ्चपुरी नगरपालिका–७ मा तालिम केन्द्र सञ्चालनको प्रक्रिया अघि बढेको छ । यसका लागि वातावरणीय प्रभाव मुल्याङ्कन (इआईए) प्रक्रिया अघि बढिसकेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत (हाल नेपालगञ्ज)का प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
प्रदेश प्रहरी विधेयक १६ महिना देखि संसदीय समितिमा
‘कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ १६ महिना देखि कर्णाली प्रदेश सभाको संसदीय समितिमै अल्झिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा कर्णाली प्रदेश सभामा २०८० साउन २४ गते सो विधेयक दर्ता भएको थियो । सो पछि सभा मार्फत दफावास छलफलका लागि २०८० भदौ ८ गते सामाजिक विकास समितिमा गएको हो । तर हालसम्म पनि समितिले प्रहरी सम्बन्धिको उक्त विधेयक अघि बढाएको छैन ।
+ There are no comments
Add yours