नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका ले मुख्य सडक क्षेत्रका अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म तथा आयल निगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोकसम्मको सडक क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो ।

सडकको दुवैतर्फ नालाको बाहिरी किनारबाट सात फिटभित्र निर्माण गरिएका टहरा, होर्डिङ बोर्ड तथा अन्य अस्थायी संरचना १५ दिनभित्र हटाउन भनिएको छ । प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा ले उक्त क्षेत्रमा दुई मिटर चौडा फुटपाथ निर्माण र वृक्षारोपण योजना कार्यान्वयन गर्नुपर्ने भएकाले अतिक्रमण हटाउन यस्तो कदम चालिएको जानकारी दिए ।
उनले तोकिएको समयसीमाभित्र अतिक्रमण हटाउन सम्बन्धित सबैलाई आग्रह गर्दै अन्यथा उपमहानगरपालिकाले आफैं हटाउने र त्यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित पक्षले नै व्यहोर्नुपर्ने स्पष्ट पारे ।
साथै, अतिक्रमण हटाउँदा लाग्ने खर्चसमेत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ (४) अनुसार सम्बन्धित पक्षबाट असुल गरिने जनाइएको छ ।
यसअघि पनि विपी चोक देखि धम्बोझी चोकसम्मको क्षेत्रमा अतिक्रमण हटाउने क्रममा उपमहानगरपालिकाले डोजर प्रयोग गरी संरचना हटाएको थियो । हाल उक्त क्षेत्रमा फुटपाथ निर्माण र वृक्षारोपण कार्य जारी रहेको छ ।
यता स्थानीयवासीले भने स्पष्ट र एकीकृत मापदण्ड बिना पटक–पटक अतिक्रमण भन्दै संरचना हटाउँदा क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन् । नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठ ले एउटै मापदण्ड लागू गरी सोही अनुसार संरचना निर्माण गर्न दिनुपर्ने माग राखेका छन् ।








