सल्यान । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट एक सय १८ जना स्थानीयवासी लाभान्वित भएका छन् । दार्मा गाउँपालिकाको आयोजनामा तथा नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत राप्ती आँखा अस्पताल, रक्षाचौर (दाङ)को प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । दार्मा गाउँपालिका तिन स्थित दार्मा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरमा आँखा परीक्षणसँगै मोतिविन्दुको शल्यक्रिया सेवा पनि प्रदान गरिएको थियो ।
गाउँपालिकाका अनुसार शिविरमा सेवा लिएका एक सय १८ जनामध्ये ३८ जनाको मोतिविन्दुको सफल शल्यक्रिया गरिएको छ । शल्यक्रिया गरिएकामध्ये १६ जना पुरुष र २२ जना महिला रहेका छन् । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले शिविरमार्फत दुर्गम क्षेत्रका स्थानीयवासीले आफ्नै गाउँमै विशेषज्ञ सेवा पाएको उल्लेख गरे । उनका अनुसार यस्ता कार्यक्रमले दृष्टिसम्बन्धी समस्याको समयमै पहिचान तथा उपचारमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन यस्ता शिविर प्रभावकारी हुने भएकाले आगामी दिनमा पनि निरन्तरता दिइने बताए । शिविरमा संलग्न आँखा विशेषज्ञ डा. क्षमता सुवेदीले गाउँमै पुगेर सेवा दिन पाउँदा खुशी व्यक्त गर्दै यसले धेरै बिरामीलाई समयमै उपचार पाउन सहयोग गरेको बताए ।


