२०८३ जेठ १४ , बिहीबार

चुत्रो–गुर्जोबाट किसानलाई आम्दानी



सुर्खेत । औषधीय गुण भएका चुत्रो र गुर्जोले बजार पाएपछि कर्णालीका स्थानीयवासीका लागि यी वनस्पति आम्दानीको नयाँ स्रोत बनेका छन् । सुर्खेतमा प्रशोधन केन्द्र स्थापना भएपछि वनजङ्गल तथा घरआसपास पाइने चुत्रो र गुर्जो सङ्कलनमा किसान व्यस्त हुन थालेका छन् । पहिले महत्व नबुझेर खेर जाने यी वनस्पति अहिले चिनियाँ कम्पनीले खरिद गर्न थालेपछि किसान उत्साहित भएका छन् । सङ्कलित चुत्रो र गुर्जोलाई प्रशोधन गरी धुलो बनाएर औषधीय प्रयोजनका लागि चीन निर्यात गरिने गरिएको छ ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१०, खरायोचौरमा सञ्चालनमा रहेको युव्यान बायोटेक्नोलोजी प्रालिले किसानसँग चुत्रोको डाँठजरा प्रतिकिलो ५५ रुपैयाँ र गुर्जो प्रतिकिलो २५ रुपैयाँमा खरिद गर्दै आएको छ । ५५ रोपनी जमिन भाडामा लिएर सञ्चालन गरिएको उक्त कम्पनीमा तीन जना चिनियाँ र ६० जना नेपाली कामदार कार्यरत छन् । कम मेहनत र लगानीमै राम्रो आम्दानी हुन थालेपछि किसानको आकर्षण बढेको छ । दैलेखको गुराँस गाउँपालिका तिनका छत्र थापाका अनुसार अहिले किसानहरू आफ्नै बारी तथा आसपासका क्षेत्रमा चुत्रो सङ्कलन गर्न व्यस्त छन् । उद्योग विभागमा दर्ता भएको यस कम्पनीले स्थानीयस्तरमा रोजगारी र आयआर्जन बढाउन सहयोग गरेको बताइएको छ ।

कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठका अनुसार कर्णालीका १० वटै जिल्लाबाट चुत्रो र गुर्जो सङ्कलन गरी चीन पठाइँदै आएको छ । कम्पनीले २०८२ चैतदेखि काम सुरु गरेको हो । चुत्रो सहजै पाइने भए पनि गुर्जो सङ्कलन गर्न भने बढी समय लाग्ने गरेको छ । त्यसैले अब स्थानीयले यसलाई व्यावसायिक खेतीका रूपमा विस्तार गर्ने सोच बनाएका छन् । वनजङ्गलबाट जथाभावी सङ्कलन हुन थालेपछि केही सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । डिभिजन वन कार्यालय सुर्खेतले पनि यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ । हाल भने अधिकांश नागरिकले निजी जग्गा तथा व्यक्तिगत रूपमा वनस्पति सङ्कलन गरी बिक्री गर्दै आएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्णका अनुसार चुत्रो र गुर्जो प्रतिबन्धित जडीबुटी नभएकाले नियमअनुसार बिक्री वितरण गर्न सकिन्छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक पदमलाल सापकोटाले किसानको चासो बढेकाले यसको संरक्षण र व्यवस्थित उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए । कर्णालीमा पहिलो पटक यस्तो उद्योग स्थापना भएकाले स्थानीयवासी आयआर्जनका दृष्टिले उत्साहित बनेका छन् । सम्बन्धित अधिकारीहरूले यसलाई कर्णालीवासीका लागि राम्रो आर्थिक अवसरका रूपमा हेरेका छन् ।

प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार