२०८३ जेठ १४ , बिहीबार

पहिरोको जोखिममा पैमागाउँ



हुम्ला ।  जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिका पाँचको पैमागाउँ यतिबेला पहिरोको उच्च जोखिममा परेको छ । गाउँमाथि भिरालो पहाड र तल बलौटे माटो भएकाले बस्ती कुनै पनि बेला ठूलो पहिरोको चपेटामा पर्न सक्ने चिन्ता बढेको छ । वर्षौंदेखि गाउँमुनिको जमिन खस्दै जाँदा पहिरो बस्ती नजिकसम्म आइपुगेको स्थानीय बताउँछन् । बर्खायाममा लगातार वर्षा हुँदा जोखिम अझ बढ्ने भएकाले यहाँका बासिन्दा त्रासमा जीवन बिताउन बाध्य छन् । स्थानीय खड्के बुमीका अनुसार वर्षात्को समयमा पहिरोको डरले गाउँमा बस्नै कठिन हुने गरेको छ ।

“पानी धेरै परेपछि गाउँ छोडेर खोलापारिका होटलमा गएर बस्नुपर्छ,” उनले भने । स्थानीय बाँच बोगटीले पनि बर्खामा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए ।  पहिले हिउँदका बेला मात्रै बसोबास हुने यो बस्तीमा पछिल्ला पाँच–छ वर्षदेखि स्थानीयले सिरुपाटा क्षेत्रको गाउँ छोडेर बाह्रै महिना पैमागाउँमै बस्न थालेका छन् । तर बस्तीको जोखिम भने वर्षेनि बढ्दै गएको छ । कर्णाली कोरिडोरसँग जोडिएको बस्ती भएकाले स्थानीयले गाउँ छोड्न चाहेका छैनन् । यातायात र पहुँचका हिसाबले महत्त्वपूर्ण स्थान भएकाले जोखिम हुँदाहुँदै पनि अधिकांश परिवार त्यहीँ बसिरहेका छन् । हाल पैमागाउँमा ७४ घरधुरी रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका विपत् व्यवस्थापन समितिले पैमागाउँलाई पहिरोको अति उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ । बस्तीका अधिकांश घर ढुङ्गा र माटोले बनेका परम्परागत संरचना भएकाले प्राकृतिक विपद्को जोखिम अझ बढी रहेको बताइएको छ । गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापाका अनुसार बस्तीमाथि लगातार ढुङ्गा खस्ने भिर र तल कमजोर बलौटे माटो भएकाले पहिरोको खतरा बढेको हो । उनले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार