२०८३ जेठ १५ , शुक्रबार

गणतन्त्रमाथि प्रश्न उठाउने कदम स्वीकार्य हुँदैन : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्र दिवस–२०८३ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकलाई शुभकामना दिँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात,अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मुख्यमन्त्री कँडेलले जारी गरेको शुभकामना सन्देशमा लोकतन्त्र, गणतन्त्र, संघीयता तथा सामाजिक न्याय स्थापनाका लागि भएका आन्दोलनमा घाइते तथा बेपत्ता परिवारजनप्रति सम्मान व्यक्त गरेका छन् । साथै विभिन्न आन्दोलनको नेतृत्व गर्ने अग्रज, राजनीतिक दल, नागरिक समाज तथा जनसमुदायको योगदानको उच्च प्रशंसा गरेका छन् ।

उनले जेठ १५ गतेलाई नेपाली जनताले सार्वभौम अधिकार प्राप्त गरेको ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै गणतन्त्र दिवस नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् । संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा नागरिकले अनुभूति गर्न सक्ने गरी कार्यान्वयन भए मात्रै गणतन्त्रको औचित्य पुष्टि हुने उनको भनाइ छ ।

मुख्यमन्त्री कँडेलले जनतालाई केन्द्रमा राखेर सञ्चालन हुने शासन प्रणालीले मात्रै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउने धारणा व्यक्त गरेका छन् । उनले गणतान्त्रिक व्यवस्थामा आचरण, व्यवहार र जिम्मेवारी पनि उन्नत र सुसंस्कृत हुनुपर्ने उल्लेख गरेका छन् ।

उनले राजनीतिक प्रणाली संस्थागत हुन समय लाग्ने भन्दै विकासक्रममा केही कमजोरी र आलोचना देखिन सक्ने बताए । तर त्यसलाई आधार बनाएर गणतन्त्रमाथि प्रश्न उठाउने वा पुरानो व्यवस्थातर्फ फर्काउने प्रयास नेपाली जनताले स्वीकार नगर्ने स्पष्ट पारे ।

मुख्यमन्त्री कँडेलले विगतमा राजनीतिक परिवर्तनका लागि देखिएको दलहरूबीचको सहमति, सहकार्य र एकताको भावनालाई अब देशको विकास र समृद्धिमा केन्द्रित गर्नुपर्ने बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको जगमा बनेको व्यवस्थालाई थप सुदृढ बनाउन दलहरूबीच सार्थक संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

उनले गणतन्त्र दिवसले राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता तथा राष्ट्रिय एकतालाई थप मजबुत बनाउँदै सामाजिक न्यायसहितको समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेठ १५ गते शुक्रबार