२०८३ जेठ १५ , शुक्रबार

कर्णाली छोरी सम्मेलन शनिबारदेखि हुने



सुर्खेत ।  बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद र सामाजिक कुरीतिविरुद्ध सचेतना अभिवृद्धि तथा नीतिगत बहसलाई सशक्त बनाउने उद्देश्यसहित कर्णाली छोरी सम्मेलन–२०८३ को दोस्रो संस्करण शनिबारदेखि सुर्खेतमा सुरु हुने भएको छ । श्री ज्योति फाउन्डेशनको आयोजनामा जेठ १६ र १७ गते वीरेन्द्रनगरमा हुने उक्त सम्मेलनले बालविवाह, छाउपडी प्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार, मानव बेचबिखन तथा मर्यादित महिनावारीजस्ता संवेदनशील सामाजिक मुद्दामा व्यापक छलफल गर्ने लक्ष्य लिएको छ । फाउन्डेशनका अध्यक्ष ज्योति कटुवालका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उनले  सम्मेलनलाई केवल छलफलको मञ्च नभई नीति परिवर्तनका लागि साझा आवाज निर्माण गर्ने प्लेटफर्मका रूपमा अघि बढाइएको बताइन् ।

सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहबाट दुई–दुई जना छोरीहरूको सहभागिता रहने छ। साथै राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका छोरीहरू, अपाङ्गता भएका तथा लैङ्गिक र यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरू गरी करिब २५० भन्दा बढी सहभागी रहने फाउन्डेशनले जनाएको छ । आयोजकका अनुसार दुई दिने सम्मेलन अवधिभर सहभागी छोरीहरूले आफ्ना व्यक्तिगत जीवन संघर्ष, भोगाइ र अनुभवहरू प्रस्तुत गर्नेछन् । ती अनुभवहरूलाई आधार बनाएर लैङ्गिक समानता, सामाजिक न्याय र अधिकारमुखी नीति निर्माणका विषयमा विस्तृत छलफल गरिनेछ ।

सम्मेलनमा विषय विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नेछन् भने विभिन्न प्यानल छलफल सत्रहरू सञ्चालन गरिनेछ । बालविवाह न्यूनीकरण, छाउपडी प्रथा उन्मूलन, महिला सशक्तीकरण तथा सामाजिक समावेशिताजस्ता विषयमा गहिरो बहस हुने अपेक्षा गरिएको छ । फाउन्डेशनका अध्यक्ष कटुवालका अनुसार सम्मेलनबाट प्राप्त निष्कर्ष तथा सुझावहरूलाई तीनै तहका सरकारसमक्ष औपचारिक रूपमा प्रस्तुत गरिनेछ, जसले नीति निर्माण प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ । यसअघि २०८२ वैशाख २७ देखि २९ गतेसम्म पहिलो कर्णाली छोरी सम्मेलन सम्पन्न गरिएको थियो। सो सम्मेलनपछि प्रदेशस्तरीय ‘कर्णाली छोरी सञ्जाल’ गठन गरिएको थियो । त्यसपछि ७९ वटै स्थानीय तहमा पालिकास्तरीय सञ्जाल विस्तार गर्दै हालसम्म छ सय ६९ जना छोरीहरूलाई आबद्ध गरिएको फाउन्डेशनले जनाएको छ ।

त्यसैगरी फाउन्डेशनले जाजरकोट भूकम्प प्रभावित तथा आर्थिक रूपमा कमजोर परिवारका छोरीहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । प्रत्येक वर्ष १५ जना भूकम्प प्रभावित र १५ जना विपन्न छोरीलाई कक्षा १२ सम्म अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिँदै आएको छ । आयोजकले सम्मेलनलाई कर्णालीमा महिला अधिकार, सामाजिक न्याय र समावेशी विकासको बहसलाई संस्थागत गर्ने महत्वपूर्ण प्रयासका रूपमा लिएको छ। स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म नीतिगत ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलनलाई यसपटक अझ व्यवस्थित र सहभागितामूलक बनाइएको छ। सामाजिक विभेद र परम्परागत कुरीतिविरुद्ध कर्णालीका छोरीहरूको साझा आवाजलाई मजबुत बनाउने अपेक्षासहित सम्मेलन शनिबारदेखि औपचारिक रूपमा सुरु हुने भएको छ ।

प्रकाशित मिति : २०८३ जेठ १५ गते शुक्रबार