२०८३ जेठ २८ , बिहीबार

यु–१९ महिला राष्ट्रिय क्रिकेट : मधेस र सुदूरको प्रभाव जारी, कर्णालीलाई निराशाको भारी



सुर्खेत जेठ २८ । वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीको महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाँचौ दिनको खेल सकिदासम्म मधेस र सुदूरपश्चिमले उपाधि भीडन्तको सम्भावनालाई बलियो बनाएका छन् । बिहीबार भएका खेलमा सुदूरपश्चिमले घरेलु टोली कर्णालीलाई ८८ रन र मधेसले गण्डकीमाथि तीन रनको नतिजा निकालेर अंक तालिकाको शीर्ष स्थानमा आलोपालो गर्दै उपाधि भीडन्त बलियो बनाएका हुन् । कालुङचोक मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा १५५ रन बनायो ।

सुदूरपश्चिमका लागि जयन्ती भण्डारीले ३५ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३९ रनमा अविजित रहिन् । यस्तै मनिषा चौधरीले आक्रामक ब्याटिङ गर्दै १९ बलमा चार चौकाको मद्दतले अविजित ३१ रन जोडिन् । ओपनरद्वय करुणा विष्ट र कप्तान साबित्री धामीले क्रमशः २५ र २४ रनको योगदान दिए । कर्णालीका तर्फबाट कप्तान त्रिसना विश्वकर्माले किफायती बलिङ गर्दै १ विकेट लिइन् भने अन्य दुई ब्याटरलाई रनआउट समेत गराइन् । अतिरिक्त रन दिने कर्णालीको पुरानै समस्या फेरि बल्झियो । पाहुना टोलीले २७ रन उपहार पाउँदै कर्णालीसामु १५६ रनको बलियो लक्ष्य प्रस्तुत ग¥यो । १५६ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली प्रदेशको ब्याटिङ लाइनअप सुदूरपश्चिमका बलरहरूका सामु लामो अवधि टिक्न सकेन । कर्णालीका लागि कप्तान तिर्सना विश्वकर्माले २७ बलमा १८ रन र शिखा दुवाडीले १२ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । ओपनर सरिता विष्ट शून्य रनसंगै अरु ४ जना ब्याटरहरू डक आउट हुन पुगे ।

सुदूरपश्चिमकी बलर सोनम जोशीले घातक बलिङ गर्दै कर्णालीको इनिङ्स ध्वस्त पारिन् । उनले कर्णालीका मुख्य ब्याटरहरू तिर्सना, शिखा दुवाडी र उमा चौधरीलाई पेभेलियन फर्काइन । यस्तै स्नेहा महराले दुई विकेट, मनिषा चौधरी र साबित्री धामीले १–१ विकेट लिए । कालुङचोक मैदानमै भएको अर्को खेलमा मधेस प्रदेशले गण्डकीमाथि रोमाञ्चक जित दर्ता ग¥यो । वर्षाका कारण १८ ओभरमा झारिएको खेलमा टस हारेपनि पहिला ब्याटिङ गरेको मधेसले ९० स्कोर बनायो । मधेसका लागि तल्लो क्रममा ब्याटिङ गर्न आएकी साक्षीकुमारी यादवले आक्रामक इनिङ्स खेल्दै २३ बलमा ४ चौकाको मद्दतमा अविजित २५ रन जोडिन् । यस्तै आरती महतोले २९ बलमा २५ रन बनाउँदै नटआउट रहिन् । ओपनर सना प्रविनले १४ रनको योगदान दिइन् भने कप्तान अलिसा यादव मात्र दुई रनमा आउट भइन् । गण्डकीका तर्फबाट आकृति तिवारी, जेनिसा श्रेष्ठ, रचना चौधरी र निरु जिटीले १–१ विकेट लिए ।

वर्षातका कारण गण्डकीलाई ११ ओभरमा ६० रनको परिमार्जित लक्ष्य दिइएको थियो । गण्डकी ५६ रनमै अलआउट हुँदा मधेसले आफ्नो नाममा थप दुई अंक जोड्न सफल भयो । गण्डकीका लागि ज्योत्स्निका मरासिनीले २७ बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक २६ रन बनाइन् भने सलिना सेनले १५ रन जोडिन् । ओपनर दिपिका सापकोटा शून्य रनमै बिना मल्लको बलमा एलबीडब्लू भइन् । गण्डकीको इनिङ्समा मधेसका क्षेत्र रक्षकहरूले उत्कृष्ट फिल्डिङको नमूना देखाए । गण्डकीका तीन जना मुख्य ब्याटरहरू सलिना सेन, रचना चौधरी र कप्तान कुसुम गोदार रनआउटको सिकार भए ।

विकेटकिपर तथा कप्तान अलिसा यादवले तीनवटै रनआउटमा महत्वपूर्ण भूमिका खेलिन् । मधेसका लागि मीना मल्ल र भूमि सिंहले १–१ विकेट लिए । ब्याटिङमा महत्वपूर्ण २५ रनको अविजित इनिङ्स खेल्नुका साथै फिल्डिङमा समेत उत्कृष्ट योगदान दिएकी मधेश प्रदेसकी साक्षीकुमारी यादव ‘प्लेयर अफ दि म्याच’ भइन् । वीरेन्द्रनगर रंगशालामा भएको तेस्रो खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित दर्ता गरेको छ । टस जितेको बागमतीले पहिले बलिङ गर्दा लुम्बिनीले पूरै ओभर सक्दा ६ विकेट गुमाएर ११९ रन बनायो ।

‘प्लेयर अफ द म्याच’ घोषित लुम्बिनीकी एञ्जी पाठकले ४२ रनको योगदान दिंदा सुप्रिया बुढामगरले २६ र कस्तुर गौचनले १० रन जोडेपनि अरुले दोहोरो रन बटुल्न सकेनन् । बागमतीकी ऐली यादवले २ विकेट झार्दा कृश्मा गुरुङ र सम्भाव्या ढकालको नाममा एक–एक विकेट रह्यो । १२० रनको लक्ष्य पछ्याएको बागमतीका प्रथा श्रेष्ठले १५, अनुषा रोकायले १६ तथा सेविकाकुमारी यावदले १० रन मात्र जोड्न सकिन् । पाँचौ दिनको खेल सकिंदासम्म पाँच खेलमा १ बाहेक ४ खेल जितेको सुदूरपश्चिम ८ अंकका साथ शीर्षस्थानमा रहँदा ४ खेलमा उत्तिकै अंक जोडेको मधेश नेट रन रेटका कारण दोश्रोमा छ । पुछारमा रहेका कोशीले अहिलेसम्म १ खेल जितेर २ अंक जोड्दा घरेलु टोली कर्णाली भने जीत र अंकविहीन अवस्थामा छ ।

प्रकाशित मिति : २०८३ जेठ २८ गते बिहीबार