सुर्खेत, जेठ २९ । मधेस प्रदेश वीरेन्द्रनगरमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । मधेसले हालसम्म आफ्ना अपराजित यात्रालाई कायमै राखेको छ । प्रतियोगीतामा खेलिने कुल छ खेल मध्ये मधेस प्रदेशले पाँच खेल जितेर महत्वपूर्ण १० अंक जोडेको छ । मधेस एक खेल अगावै फाइनल प्रवेश गरेको हो ।

शुक्रबार वीरेन्द्रनगर क्रिकेट मैदानमा भएको खेलमा मधेसले लुम्बिनी प्रदेशलाई २४ रनले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले निर्धारित ओभरमा तीन विकेट गुमाएर १६१ रनको बलियो योगफल खडा गरेको थियो । १६२ को लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा चार विकेट गुमाउँदै १३७ मा सीमित हुन पुग्यो ।
पहिले ब्याटिङ गरेको मधेशका लागि ‘प्लेयर अफ दि म्याच’ प्रतिमा साह र ओपनर सना प्रवीनले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । ओपनर एलिशा यादव पाँच रनमा आउट भएपछि क्रिजमा आएकी प्रतिमाले मात्र ४७ बलमा ३ चौका र ५ छक्काको मद्दतले अविजित ६८ रनको विष्फोटक इनिङ्स खेलिन् । त्यस्तै, सना प्रवीनले ५७ बलमा १० चौका प्रहार गर्दै महत्वपूर्ण ६२ रनको योगदान दिइन् ।
लुम्बिनीका लागि बलिङतर्फ आश्ना चौधरी र आयुषा भुसालले समान १–१ विकेट लिए । लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका ओपनर सुप्रिया बुढा मगरले ५३ बलमा ४ चौकासहित सर्वाधिक ४४ रनमा अविजित रहिन् । कप्तान अञ्जी पाठकले १८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै तीव्र गतिमा ३२ रन जोडिन् । चौथो नम्बरमा आएकी युनिशा सारु मगरले १४ र रितु रावलले अविजित १५ रन बनाए पनि टिमलाई जित दिलाउन सकिनन् ।
मधेसका बलरहरूले कसिलो बलिङ गर्दै लुम्बिनीका ब्याटरहरूलाई बाँधेर राखे । मधेसका लागि साक्षी कुमारी यादव, सुस्मिता कुमारी यादव, आरती महतो र प्रतिमा साहले समान १–१ विकेट लिए ।
अर्को खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशमाथि रोमाञ्चक जित दर्ता ग¥यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले कमजोर ब्याटिङका बावजुद रञ्जना साउँदको उत्कृष्ट बलिङ मद्दतमा गण्डकीलाई रोक्दै महत्वपूर्ण जित निकालेको हो ।
८८ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी प्रदेश निर्धारित २० ओभरमा निकै संघर्ष गर्दै पराजित हुन पुग्यो । पहिले ब्याटिङ गरेको कोशीले गण्डकीको कसिलो बलिङ र उत्कृष्ट फिल्डिङका अगाडि खुलेर खेल्न सकेन । कोशीका लागि पूर्णिया राजवंशीले ३६ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक २७ रन बनाइन् ।
कप्तान टीका शाहले १९ बलमा १५ रन जोड्नुबाहेक अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीका बलरहरूले कसिलो बलिङ गर्दै कोशीलाई सस्तैमा समेट्न मुख्य भूमिका खेले । जवाफी ब्याटिङमा उत्रिएको गण्डकीका कप्तान कुसुम गोदारले सम्हालिएको इनिङ्स खेल्दै ४३ बलमा ५ चौका प्रहार गरी अविजित ४२ रन बनाइन् ।
यस्तै चन्द्रमाया बरालले ३७ बलमा १७ रन जोडिन् । तर, टोलीका अन्य ब्याटरहरू सस्तैमा आउट भए भने ३ जना ब्याटरहरू रन आउटको सिकार बन्न पुगे ।
कोशीको जितको मुख्य नायक बलर रञ्जना साउँद रहिन् । उनले कसिलो बलिङ गर्दै गण्डकीका मुख्य ब्याटरहरूलाई पेभिलियनको बाटो देखाइन् । रञ्जनाले कप्तान टीका शाहको क्याचमार्फत कुसुम गोदारलाई सघाउनुका साथै पूर्णिया राजवंशी र खुसी कुमार राजवंशीलाई आफ्नै बलमा क्याच आउट गराइन् ।
उनले दीपशिखा भुजेललाई बोल्ड र कृतिका धामीलाई एलबीडब्लू धरापमा पार्दै उत्कृष्ट प्रदर्शन गरिन् । घातक बलिङ स्पेलका लागि कोशीकी रञ्जना साउद ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।
शुक्रबारनै कालुङचोक मैदानमा भएको खेलमा घरेलु टोली बागमतीका अघाडि निरिह बन्यो । कर्णालीले लगातार पाँचौं खेलमा पराजित हुन पुग्यो । कर्णालीविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा १३० रनको सम्मानजनक योगफल खडा गरेको थियो ।
१३१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश बागमतीकी बलर कृष्मा गुरुङको घातक बलिङसामु निरिह बन्दै सस्तैमा समेटियो । पहिले ब्याटिङ गरेको बागमतीका लागि मध्यक्रमकी ब्याटर लक्ष्मीमाया रुम्बा लामाले उत्कृष्ट इनिङ्स खेलिन् । उनले ४३ बलको सामना गर्दै ६ चौकाको मद्दतले सर्वाधिक ४७ रन जोडिन् ।
यस्तै ओपनर तथा विकेटकिपर प्रथा श्रेष्ठले ३३ बलमा ३ चौका प्रहार गर्दै महत्वपूर्ण ३० रनको योगदान दिइन् । छैटौँ नम्बरमा आएकी कृष्मा गुरुङले १५ बलमा अविजित १५ रन जोडिन् ।
बलिङतर्फ कर्णालीका सोनिसा चन्द, पास्ना योञ्जन र सोबिका शाहीले १–१ विकेट लिए । १३१ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशको सुरुवात निकै खराब रह्यो । टोलीका लागि कप्तान तिर्सना विश्वकर्माले एक्लै लड्दै ४६ बलमा ७ चौका प्रहार गरी ४३ रनको जुझारु इनिङ्स खेलिन् ।
ओपनर सोबिका शाहीले ९ रन जोड्नुबाहेक कर्णालीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । टोलीका चार जना ब्याटरहरू शून्य (डक) रनमा आउट भए । कर्णालीको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा बागमतीकी कृष्मा गुरुङ एक्लैले ५ विकेट लिइन् । उनले सोबिका शाही, उमा चौधरी, पास्ना योञ्जन, अन्जिला थापा र समिक्षा बिसीलाई पेभिलियनको बाटो देखाइन् ।
यस्तै दिपिकाकुमारी बोहराले दुई तथा पूजा साउँद र सम्भाव्या ढकालले १–१ विकेट लिए । अलराउन्ड प्रदर्शन गर्दै अविजित १५ रन र घातक ५ विकेट लिएकी बागमतीकी कृष्मा गुरुङ खेलको ’प्लेयर अफ दि म्याच’ घोषित भइन् ।







