२०८३ असार ८ , सोमबार
फ्रन्ट पेज

होसन्ना सेवकाईलाई नियमित स्वास्थ्य शिविर सञ्चालन गरिदिन माग



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ अन्तर्गत झुप्राखोला र धुलियाबिटस्थित बादी समुदायका बस्तीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ३५० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । विपन्न, गरिब तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । सामाजिक संस्था होसन्ना सेवकाई नेपालको आयोजनामा सञ्चालन गरिएको शिविर झुप्राखोला बस्तीमा जेठ ६ गते तथा धुलियाबिट बस्तीमा जेठ ७ गते सम्पन्न भएको हो ।

आयोजकका अनुसार झुप्राखोलामा आयोजित शिविरबाट करिब २०० बढी जनाले सेवा लिएका थिए भने धुलियाबिट बस्तीमा १५३ जना नागरिकले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन् । शिविरमा स्त्रीरोग, सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप तथा आधारभूत स्वास्थ्य जाँच, स्वास्थ्य परामर्श, आवश्यक औषधि वितरण तथा स्वास्थ्य शिक्षा सम्बन्धी सेवा प्रदान गरिएको थियो ।

विशेषगरी महिलामा देखिने पाठेघर तथा स्त्रीरोगसम्बन्धी समस्याको पहिचान र उपचारमा शिविर केन्द्रित रहेको जनाइएको छ । स्थानीय बासिन्दाले स्वास्थ्य शिविरलाई अत्यन्तै उपयोगी र राहतदायी भएको बताएका छन् । नियमित स्वास्थ्य सेवा पहुँचमा कठिनाइ भोगिरहेका समुदायका नागरिकले विशेषज्ञ चिकित्सकबाट प्रत्यक्ष परीक्षण तथा परामर्श पाउनु ठूलो अवसर भएको बृद्धा गोल्मा बादीले बताइन् । शिविरमा सहभागी भएका बिरामीहरूले निःशुल्क औषधिसमेत प्राप्त गरेका छन् ।

आयोजकका अनुसार अधिकांश बिरामीलाई कम्तीमा १५ दिनदेखि एक महिनासम्म पुग्ने औषधि निःशुल्क उपलब्ध गराइएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत पुजा बादीका अनुसार शिविरमा मेडिकल टिम सहित १२ जनाको टोली काठ्माडौंदेखि सुर्खेत पुगेको हो । शिविरमा बालबालिकादेखि ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसम्मको सहभागिता रहेको उनले बताइन् ।

शिविरमा एक जना महिलाको पाठेघरको तत्काल सल्यक्रिया गर्नैपर्ने काठमाडौं थापाथली प्रसुती गृहमा कार्यरत स्त्री रोग विशषेज्ञ डा. भवानी सिल्पकारले बताइन् । उनका अनुसार शिविरमा धेरै जना कम उमेरकै महिलाहरुमा पाठेघरको समस्या देखिएको छ । अत्यावाश्यक बस्तीमै शिविर आयोजना गरेकोमा उनले संस्थालाई धन्यबाद दिइन् ।

शिविरमा छाला रोगदेखि दिर्घरोगीहरु र भाइरत रुघाखोकीसम्मका बिरामी आएको संस्थाका सामुदायिक स्वास्थ्य नर्स संगीता बादीले बताइन् । हाडजोर्नी रोग विशषेज्ञ डा. गणेश तिवारीका अनुसार शरिर दुखाई तथा हाडजोर्नी सम्बन्धिका बिरामीलाई परामर्श सेवा सहित उपचार गरिएको छ ।

स्वास्थ्य समस्या लुकाएर बस्न बाध्य हुने अवस्था रहेका कतिपय नागरिकले पहिलोपटक विस्तृत स्वास्थ्य परीक्षण गराएको बताएका छन् । यसले समुदायभित्र रहेका विभिन्न रोग तथा स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान गर्न सहयोग पुगेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

शिविरका क्रममा पाठेघरलगायतका जटिल समस्या भएका तथा शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूको समेत पहिचान गरिएको छ । यस्ता बिरामीलाई उपयुक्त अस्पतालमा रेफर गरी आवश्यक शल्यक्रिया तथा थप उपचारका लागि सहयोग गरिने आयोजक संस्थाले जनाएको छ ।

स्थानीयवासीहरूले यस्ता स्वास्थ्य शिविर एकपटक मात्र नभई नियमित रूपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन् । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसक्ने र सामान्य स्वास्थ्य परीक्षणसमेत गर्न कठिनाइ भोग्ने समुदायका लागि यस्ता कार्यक्रम प्रभावकारी भएको उनीहरूको भनाइ छ ।

स्वास्थ्य सेवाको पहुँच अझै कमजोर रहेको बादी समुदायमा सञ्चालन गरिएको यस शिविरले उपचार मात्र नभई स्वास्थ्य सचेतना अभिवृद्धि गर्न पनि महत्वपूर्ण योगदान पु¥याएको सरोकारवालाहरूले बताएका छन् । ग्रामीण तथा सीमान्तकृत समुदायमा यस्ता अभियानलाई निरन्तरता दिन सके स्वास्थ्य असमानता न्यूनीकरणमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार