सुर्खेत । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म करिव ६ सय भन्दा धेरै शव फेला परेको छ । नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार ९७७ जना अझै सम्पर्कविहीन छन् भने ३ हजार ७४२ जनाको उद्धार गरिएको छ । सम्पर्कविहीनमध्ये ५१७ विदेशी नागरिक र १२७ गैरआवासीय नेपाली (एनआरएन) रहेका छन् । यस्तै, २८ जना नेपाल प्रहरी, ४५ जना नेपाली सेना, १३ जना सशस्त्र प्रहरी, १५ जना भन्सार कर्मचारी र ४ जना अध्यागमन कर्मचारी पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।

भोटेकोशीमा आएको बाढी
उद्धार कार्यका लागि नेपाली सेना तथा निजी क्षेत्रका ७८ वटा हेलिकोप्टर उडान सञ्चालन भएका छन् । साथै ४ हजार ४७३ जना नेपाल प्रहरी, ६ हजार ६९६ जना नेपाली सेना र ६ हजार ३५८ जना सशस्त्र प्रहरी परिचालन गरिएका छन् । घाइतेमध्ये ९४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
चीनको चेतावनी ः जोखिम अझै कायम
नेपालस्थित चिनियाँ दूतावासले सीमा क्षेत्रमा गएको हिम–चट्टान पहिरोले नदी थुनेर ताल बनेको र त्यसमा पानीको सतह बढ्दै गएको जनाएको छ । दूतावासले ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
राहत कोषमा ३६ घण्टामै पौने २ अर्ब सहयोग संकलन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाभित्र १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ । नयाँ सहयोग रकम थपिएसँगै कोषमा रहेको कुल रकम ४ अर्ब ९ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सूर्य नेपाल प्रालिले मात्रै १५ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
राहत र पुनःस्थापनामा सरकारको जोड
रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित जिल्लामा खोज, उद्धार, राहत, खानेपानी, अस्थायी आवास तथा शव व्यवस्थापनलाई प्रभावकारी बनाउन संघीय सरकारका मन्त्रालय र सहयोगी निकायबीच उच्चस्तरीय छलफल जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा राहत तथा पुनःस्थापनाका कार्यक्रम तीव्र बनाइएको जनाइएको छ ।








