काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी ब्याङ्कक प्रस्थान गर्नुभएको छ।
विश्वका विभिन्न देशका अर्थमन्त्रीहरूको सहभागिता रहने उक्त बैठकका क्रममा मन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा भाग लिने कार्यक्रम रहेको छ। बैठकमा अन्तर्राष्ट्रिय आर्थिक अवस्था, वित्तीय सहकार्य तथा आर्थिक विकाससँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख एवं सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई सहभागी हुनुहुन्छ। अर्थ मन्त्रालयका अनुसार मन्त्री वाग्ले कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।








