हुम्ला । सडक विभागले हुम्लाका कर्णाली नदीसहित विभिन्न सहायक नदी तथा खोलामा १२ वटा नयाँ पक्की पुल निर्माण गर्ने तयारी अघि बढाएको छ । पुल निर्माण भएपछि सडक सञ्जालबाट अझै टाढा रहेका जिल्लाका दुर्गम बस्तीहरू यातायातको पहुँचमा आउने अपेक्षा गरिएको छ । हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार पुल निर्माणका लागि आवश्यक फाइल तत्काल तयार गरी पेस गर्न सडक विभागले निर्देशन दिएको छ । सोही निर्देशनपछि पुल निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको उनले बताए ।
हाल हुम्लाका कतिपय गाउँपालिकाले सडक निर्माण गरिसके पनि नदी तथा खोलामा पुल नहुँदा यातायात सञ्चालन हुन सकेको छैन । कतिपय स्थानमा अस्थायी काठे पुलबाट आवतजावत भइरहेको छ भने केही ठाउँमा पुलको व्यवस्था नै छैन । योजनाअन्तर्गत अदानचुली गाउँपालिका छ को पाल्सगाउँ जोड्ने कालागाड पुल, सिमकोट गाउँपालिका आठको खोल्सी देखी याङ्गु जोड्ने गुरगुरेर पुल, नाम्खा गाउँपालिका छ स्थित लिमीको तिल्जुङखोला र लिङखोला पुल निर्माण हुनेछन् । त्यस्तै नाम्खा गाउँपालिका पाँच र छ जोड्ने बुम्वेखोला, लिमीको लाप्चाखोला तथा नाम्खा गाउँपालिका चारको याल्वाङ–पुइया जोड्ने कर्णाली नदीमाथिको पुल पनि निर्माणको सूचीमा छन् ।
यसैगरी सर्केगार्ड गाउँपालिकाको केन्द्रमा, खार्पुनाथ गाउँपालिका एक र दुई जोड्ने कर्णाली नदीमा तथा खार्पुनाथ गाउँपालिका केन्द्रबाट वडा नं चार जोड्ने याङचुवगरमा कर्णाली नदीमाथि पुल निर्माण गरिनेछ । हुम्ला देखी मुगु जोड्ने नेरघाटको कर्णाली नदी तथा नाम्खा गाउँपालिका तिनको खगलगाउँ जोड्ने कर्णाली नदीमाथि पनि नयाँ पक्की पुल बन्नेछन् । सडक योजनाका प्रमुख नेपालीका अनुसार अब सबै पुलको विस्तृत परियोजना प्रतिवेदन नाै डिपिआर र लागत इस्टिमेट तयार गर्ने काम सुरु हुनेछ । फाइल तयार गरी लागत निर्धारण भएपछि निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित गरिनेछ ।









