२०८३ भदौ १४ , आइतबार

१९ वर्ष बित्दा पनि बनेन नाक्च्यालाङ्ना सडक



मुगु । चीनसँगको उत्तरी सीमा नाक्च्यालाङ्ना जोड्ने महत्वपूर्ण सडक निर्माण सुरु भएको करिब दुई दशक पुग्न लाग्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन । निर्माण सुरु भएको १९ वर्षमा हालसम्म करिब १७ किलोमिटर मात्र सडकको ट्र्याक खोलिएको छ । मुगुको उत्तरी क्षेत्रलाई चीनसँग जोड्ने यो सडकलाई कर्णाली प्रदेशकै महत्वपूर्ण व्यापारिक तथा रणनीतिक मार्गका रूपमा लिइएको छ । तर निर्माणमा भएको ढिलाइका कारण मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयवासीले अझै सहज यातायात सुविधा पाउन सकेका छैनन् ।

नाक्च्यालाङ्ना सडक योजना आर्थिक वर्ष २०७२ र ७३ मा मुगुमा स्थापना गरिएको थियो । स्थानीयस्तरबाटै आयोजना सञ्चालन गरी निर्माणलाई गति दिने उद्देश्यले कार्यालय स्थापना गरिए पनि कार्यालय प्रमुख र प्राविधिक जनशक्ति मुगुमै नहुँदा कार्यान्वयनमा समस्या देखिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी दीपेन्द्र चौधरीका अनुसार हाल मुगुस्थित आयोजना कार्यालयमा एक जना सुब्बा, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी मात्र कार्यरत छन् ।

लेखासम्बन्धी काम मुगुको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट हुने गरेको छ भने कार्यालय प्रमुख र प्राविधिकतर्फका काम जुम्लाबाटै सञ्चालन हुँदै आएका छन् । स्थानीयका अनुसार सामान्य निर्णय र प्राविधिक कामका लागि समेत जुम्लामा निर्भर हुनुपर्दा सडक निर्माण प्रक्रिया सुस्त बनेको छ । स्थानीय जयबहादुर मल्लले आयोजना प्रमुखसहित आवश्यक प्राविधिक जनशक्ति मुगुमै राख्न सके निर्माणले गति लिने बताए ।

सडक चीनको सीमासम्म पुगेमा व्यापार विस्तार, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्धन तथा नागरिकको आवतजावत सहज हुने स्थानीयको अपेक्षा छ । अहिले सडक अभावका कारण दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री ढुवानीमा समेत स्थानीयले महँगो मूल्य तिर्नुपरेको छुजुङ तामाङले बताए । स्थानीयले पर्याप्त बजेट, आवश्यक प्राविधिक जनशक्ति, नियमित अनुगमन र मुगुमै आयोजना प्रमुखको दरबन्दी कायम गरी सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ १४ गते आइतबार