सुर्खेत । चौकुने गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका विषयमा वडा तहमा छलफल तथा अन्तरक्रिया गरिएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर छ, सात र आठ केन्द्रित कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति सदस्य तुलबहादुर नेपालीको विशेष आतिथ्यता रहेको थियो । तीनवटै वडाका अध्यक्षले संयुक्त रूपमा कार्यक्रमको अध्यक्षता गरेका थिए ।
कार्यक्रममा वडा नम्बर छ, सात र आठका जनप्रतिनिधि, स्थानीय बासिन्दा, राजनीतिक दलका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो । सहभागीहरूले गाउँपालिकामा रहेका जग्गासम्बन्धी समस्या, भूमिहीन तथा सुकुम्बासीको अवस्था र अव्यवस्थित बसोबासका कारण नागरिकले भोग्दै आएका समस्याबारे धारणा राखेका थिए ।
कार्यक्रममा अमिन भूपेन्द्र वलीले गाउँपालिकाभित्र देखिएका जग्गासम्बन्धी समस्या र त्यसको अवस्थाबारे प्रस्तुतीकरण गरे । उनले समस्या समाधानका लागि आवश्यक प्रक्रिया र स्थानीय तहबाट गर्नुपर्ने पहलका विषयमा जानकारी गराए । नेपाली कांग्रेसका युवा नेता गजराज जोशीले भूमिहीन तथा सुकुम्बासीको समस्या लामो समयदेखि कायम रहेकाले वास्तविक पीडितको पहिचान गरी उनीहरूलाई जग्गाको स्वामित्व दिलाउन सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी चौकुनेका सभापति विष्णुप्रसाद उपाध्यायले भूमिहीन तथा अव्यवस्थित बसोबासको विषय राजनीतिक स्वार्थभन्दा नागरिकको आधारभूत अधिकारसँग जोडिएको बताए । उनले वास्तविक भूमिहीनको पहिचान र प्रक्रिया पारदर्शी बनाउनुपर्नेमा जोड दिए । सहभागीहरूले समस्या समाधानका लागि स्थानीय तह, जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनीहरूले वास्तविक भूमिहीन तथा सुकुम्बासीलाई पहिचान गरी दीर्घकालीन रूपमा जग्गाको स्वामित्व उपलब्ध गराउने प्रक्रिया अघि बढाउन माग गरेका छन् ।









