२०८३ असोज २८ , बुधबार

दसैँमा बिक्रीका लागि ल्याइएका ७५० भन्दा बढी ईभी मुस्ताङमै अलपत्र



मुक्तिनाथ, मुस्ताङ । दसैँलाई लक्षित गरी चीनको तिब्बत हुँदै कोरला नाकाबाट नेपाल ल्याइएका साढे सात सयभन्दा बढी विद्युतीय सवारीसाधन ९ईभी० मुस्ताङमै रोकिएका छन् ।

बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम–कोरला सडकखण्ड क्षतिग्रस्त भएपछि सवारीसाधन गन्तव्यसम्म पुर्‍याउन समस्या भएको हो । सडकमा हिलो जम्नुका साथै ठाउँठाउँमा सवारी आवागमन जोखिमपूर्ण बनेपछि लोमान्थाङ गाउँपालिका–४, नेचुङस्थित मुस्ताङ भन्सार कार्यालय, कोरला नाका क्षेत्र तथा आसपासका विभिन्न स्थानमा ईभी रोकिएका छन् । उपलब्ध विवरणअनुसार लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा ४० वटा, जोमसोमस्थित ट्राफिक कार्यालयमा ३५ वटा, जोमसोम बसपार्कमा १२५ वटा र घाँसामा २५ वटा विद्युतीय सवारीसाधन राखिएका छन् । भन्सार क्षेत्र तथा अन्य स्थानमा समेत गरी रोकिएका ईभीको सङ्ख्या ७५० भन्दा बढी रहेको छ ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार भन्सार जाँचपास पूरा भएका सवारीसाधनसमेत सडकको खराब अवस्थाका कारण अगाडि बढ्न सकेका छैनन् । चीनबाट सवारीसाधन आउने क्रम जारी रहेकाले भन्सारमा ईभीको कारोबार उल्लेख्य रहेको उहाँले बताउनुभयो ।

सडकको हिलोले नयाँ गाडीमा क्षति पुग्ने जोखिम

जोमसोमदेखि कोरला नाकासम्मको सडकको अवस्था तुलनात्मक रूपमा सामान्य रहे पनि जोमसोम–बेनी खण्डमा समस्या देखिएको छ । बेनी–जोमसोम–कोरला सडकको करिब २२ किलोमिटर क्षेत्रमा हिलो र क्षतिग्रस्त सडकका कारण साना सवारीसाधन फस्ने जोखिम छ । नयाँ सवारीसाधन हिलोमा फस्दा क्षति हुन सक्ने भएकाले खरिदकर्ताले गन्तव्यतर्फ लैजान रोकेको कोरला नाका कन्टेनर व्यवस्थापन समितिका उपाध्यक्ष घरचुङ गुरुङले बताउनुभयो ।

पर्वतको कुश्मा नगरपालिका–१, पाङदेखि म्याग्दीको बेनी हुँदै कोरला नाकासम्म जोडिने सडकको कुल लम्बाइ करिब २०२ किलोमिटर छ । यसमध्ये केही खण्डमा बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याउँदा सवारीसाधनको नियमित आवागमन प्रभावित भएको छ । कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा सवारीसाधन ल्याएर जाँचपास गर्ने व्यवस्था छ । त्यसपछि बेनी–जोमसोम–कोरला सडक हुँदै पोखरालगायतका बजारमा गाडी पुर्‍याइन्छ । तर, सडक एकतर्फी रूपमा सञ्चालनमा रहे पनि हिलो र जोखिमका कारण ईभी गन्तव्यसम्म लैजान कठिन भएको छ ।

दसैँपछि मात्रै गाडी लैजाने तयारी

दसैँको व्यापारलाई लक्षित गरी ल्याइएका विद्युतीय सवारीसाधन करिब दुई सातादेखि रोकिएका छन् । सडकको अवस्था तत्काल सहज हुने सम्भावना कम देखिएपछि ईभी बिक्रेताका भन्सार प्रतिनिधिहरूले चाडपर्वपछि मात्रै सवारीसाधन गन्तव्यतर्फ लैजाने तयारी गरेका छन् । कालीगण्डकी सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार क्षतिग्रस्त सडकमा तत्कालका लागि एकतर्फी आवागमन सञ्चालन गर्दै मर्मतको काम भइरहेको छ ।

नयाँ ट्र्याक खोलिएका स्थानमा समेत सवारीसाधनको आवतजावत सहज बनाउन समय लाग्ने उहाँले बताउनुभयो । चाडपर्वका लागि ल्याइएका सामान बोकेका कन्टेनर, स्याउलगायतका सामग्री तथा मुस्ताङमा रोकिएका सवारीसाधनको आवागमन व्यवस्थापन भएपछि सडक मर्मतलाई प्राथमिकता दिने योजना रहेको शर्माले जानकारी दिनुभयो । मर्मत कार्यलाई व्यवस्थित बनाउन समयतालिका सार्वजनिक गरी आवश्यकताअनुसार सडक बन्द गर्नुपर्ने उहाँको भनाइ छ । सडकको अवस्था सुधार नहुँदासम्म दसैँलाई लक्षित गरी ल्याइएका सयौँ विद्युतीय सवारीसाधन बजारसम्म पुग्न नसक्ने अवस्था देखिएको छ । यसले बिक्रेता तथा खरिदकर्ताको योजना प्रभावित बनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार