२०८३ असोज २८ , बुधबार

प्रधानमन्त्री बालेन काभ्रेमा, पलाञ्चोक भगवतीको दर्शन



काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान काभ्रेपलाञ्चोकस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरमा पुगेर दर्शन गरेका छन् ।

प्रधानमन्त्री शाह आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै मन्दिर पुगेका हुन् । उनले भगवतीको नित्य पूजाका क्रममा मन्दिरमा दर्शन गरी फर्किएको पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको उक्त भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी नगराइएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीसँगै रहेका सुरक्षाकर्मी पनि सादा पोसाकमा थिए । नवरात्र सुरु भएसँगै पलाञ्चोक भगवती मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको छ । नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिने यस मन्दिरमा दसैँको समयमा विशेषगरी भक्तजनको भीड लाग्ने गर्छ ।

धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पलाञ्चोक भगवती मन्दिरमा नवरात्रको अष्टमीका दिन राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परासमेत रहँदै आएको छ । यही धार्मिक महत्त्वका कारण दसैँका अवसरमा यहाँ देशका विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन् । प्रधानमन्त्री शाहको बुधबार बिहानको मन्दिर दर्शनले नवरात्रको धार्मिक माहोलबीच पलाञ्चोक भगवती क्षेत्रको चर्चा थप बढाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार