२०८३ असोज २८ , बुधबार

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारूको शव भेटियो



कञ्चनपुर । महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक असई सागरराज थारूको शव फेला परेको छ ।

भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा नदीमा बेपत्ता भएका थारूको शव पुलको तारमा अड्किएको अवस्थामा भेटिएको हो । नदीमा पानीको बहाव तीव्र रहेकाले शव निकाल्न कठिनाइ भइरहेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार शव रहेको स्थान पहिचान भइसकेको छ । उद्धारका लागि गोताखोर टोली र नेपाली सेना परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कोइरालाले नदीको माथिल्लो भागबाट हेर्दा सशस्त्र प्रहरीको टी–सर्ट लगाएको व्यक्ति तारमा अड्किएको देखिएको जानकारी दिएका छन् । तीव्र बहावका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको उनको भनाइ छ । आवश्यक परे नदीको बहाव कम गर्न जेसीबी प्रयोग गर्ने तयारीसमेत गरिएको प्रशासनले जनाएको छ ।

डुंगा अनियन्त्रित हुँदा नदीमा बेपत्ता

दुई साताअघि दोधाराचाँदनी जोड्ने झोलुङ्गे पुल भत्किएको थियो । पुल भत्किएसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो । उक्त तार तान्ने क्रममा डुंगा अनियन्त्रित भएपछि असई थारू महाकाली नदीमा बेपत्ता भएका थिए । बर्दियाको ठाकुरबाबा नगरपालिका–६, तुलसीपुर निवासी थारू बेपत्ता हुनुभन्दा एक दिनअघि मात्रै दोधाराचाँदनीको देवस्थानस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए । नदीमा बेपत्ता भएपछि उनको खोजी कार्य जारी राखिएको थियो । अन्ततः भत्किएको झोलुङ्गे पुलको तारमा अड्किएको अवस्थामा उनको शव फेला परेको हो । तीव्र बहावका कारण शव निकाल्न उद्धार टोलीले कठिनाइ सामना गरिरहेको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार