२०८३ असोज २८ , बुधबार

कांग्रेसको आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजाति समूहअन्तर्गत सहमहामन्त्री पदमा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री लामाले ३ हजार २४५ मत प्राप्त गर्दै उक्त पदमा विजय हासिल गरेका हुन् ।

निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत प्राप्त गरे । त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन् । कांग्रेसको आदिवासी जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । तीमध्ये आठ जना निर्वाचित भएका छन् । प्राप्त मतका आधारमा गीता गुरुङ २ हजार ८५९ मतसहित पहिलो स्थानमा रहिन् । डा। गंगालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउचा मगरले २ हजार ३९२ र सपनाराज भण्डारी जोशीले २ हजार ३५१ मत प्राप्त गरे । त्यसैगरी, सीताकुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बुले १ हजार ६८१ तथा पुनम लामाले १ हजार ६३६ मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

आदिवासी जनजाति पुरुष केन्द्रीय सदस्यका १२ पदका लागि ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । निर्वाचन समितिका अनुसार तीर्थ लामा सर्वाधिक ४ हजार ४२५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । यस समूहबाट ई। अनुप श्रेष्ठले २ हजार ५५१, डा। प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६ र टेकप्रसाद गुरुङले २ हजार ९० मत प्राप्त गरेका छन् । त्यस्तै, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६ र गेल्जे लामा शेर्पाले १ हजार ८१९ मत पाए । वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गर्दै आदिवासी जनजाति पुरुष केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका छन् । यसरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजाति समूहअन्तर्गत सहमहामन्त्री तथा महिला र पुरुष केन्द्रीय सदस्य पदका लागि नयाँ नेतृत्व चयन भएको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार