२०८३ असोज २८ , बुधबार

भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, १ हजार ३३६ शव व्यवस्थापन



काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ४५८ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लामा शव भेटिएका हुन् भने काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवामा २३७, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ । यी जिल्लामा गरी १ हजार ४५६ जनाको शव भेटिएको हो ।बाढीमा ज्यान गुमाएकाहरूको पहिचानका लागि प्रहरीले डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया अघि बढाएको छ । हालसम्म १ हजार ३३६ वटा शव सुरक्षित रूपमा माटोमुनि राखेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

शवको पहिचान गर्ने उद्देश्यले मृतकका शवबाट १ हजार ३३७ र आफन्तबाट २ हजार ९० गरी कुल ३ हजार ४२७ वटा डीएनए नमुना संकलन गरिएको छ । प्रहरीका अनुसार संकलित नमुनामध्ये १ हजार ३१२ वटा शवका र २ हजार ८१ वटा आफन्तका गरी कुल ३ हजार ३९३ वटा नमुनाको प्रोफाइलिङ सम्पन्न भएको छ । पहिचान हुन नसकेका १ हजार ४३३ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको पनि प्रहरीले जानकारी दिएको छ ।

४ हजार ७२० बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका काममा प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । हालसम्म यी कार्यका लागि ७ हजार ९७५ जना प्रहरी कर्मचारी खटाइएको जनाइएको छ । बाढीपछि बेपत्ता भएका ४ हजार ७२० जनाको खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ । यसैबीच विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ९९५ जनालाई राखिएको छ बेपत्ताको खोजी, शवको पहिचान र व्यवस्थापन तथा प्रभावितलाई राहत उपलब्ध गराउने कामलाई प्रहरीले निरन्तरता दिइरहेको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधबार