सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्लामा आफ्नो संगठन विस्तार र सुदृढीकरण गर्ने उद्देश्यले सल्यानका १० वटै स्थानीय तहमा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत दुई टोली बनाएर अगुवा कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटा र कर्णाली प्रदेश महामन्त्री ललित चन्दको नेतृत्वमा रहेको टोलीले प्रदेशसभा क्षेत्र नम्बर १ अन्तर्गतका पाँच स्थानीय तहमा कार्यक्रम गरेको छ । उक्त टोलीले बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, कुमाख गाउँपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकामा कार्यकर्तासँग छलफल गरेको हो ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त र जिल्ला सभापति प्रकाश नेपालीको नेतृत्वमा रहेको अर्को टोलीले प्रदेशसभा क्षेत्र नम्बर २ का स्थानीय तहमा अभियान सञ्चालन गरेको छ । यस टोलीले शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका र कालिमाटी गाउँपालिकामा अगुवा कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।
स्थानीय समस्या र जनअपेक्षाबारे छलफल
रास्वपा सल्यानका जिल्ला सचिव श्रीकान्त राईका अनुसार अभियानका क्रममा पार्टीको संगठनात्मक अवस्था, स्थानीय तहमा रहेका समस्या तथा नागरिकका आवश्यकता र अपेक्षाबारे छलफल गरिएको छ । स्थानीय नागरिक र कार्यकर्ताले आफ्ना समस्या, सुझाव तथा पार्टीबाट राखेका अपेक्षा कार्यक्रममा प्रस्तुत गरेका थिए । अभियानले जिल्लामा पार्टीको संगठन विस्तार र संरचनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको राईले बताए ।
प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाले जनताको आवश्यकता बुझ्ने र कार्यकर्ताका सुझाव संकलन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । स्थानीय नागरिकका आवाज सुनेर समस्या पहिचान गर्ने र समाधानका लागि आवश्यक पहल गर्नु अभियानको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ । त्यसैगरी, प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्तले नागरिक र कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दा स्थानीय समस्या बुझ्न सहज हुने बताए । यस्ता कार्यक्रमले पार्टीको संगठनलाई थप सुदृढ बनाउन मद्दत पुग्ने उनले उल्लेख गरे ।
कर्णालीका सबै जिल्लामा अभियान सञ्चालन
रास्वपाका कर्णाली प्रदेश महामन्त्री ललित चन्दले प्रदेशका १० वटै जिल्लामा ‘हामी आउँदै छौँ’ अभियान उत्साहका साथ सञ्चालन भइरहेको जानकारी दिए । अभियानबाट पार्टीको सांगठनिक अवस्था बुझ्न, जनताका अपेक्षा पहिचान गर्न र स्थानीय समस्याको समाधानका लागि पहल गर्न सहयोग पुग्ने उनको भनाइ छ । रास्वपाले अभियानमार्फत नागरिकसँगको सम्बन्ध विस्तार गर्ने, कार्यकर्ताका सुझाव संकलन गर्ने तथा स्थानीय आवश्यकतालाई पार्टीका आगामी योजना र कार्यक्रममा समेट्ने लक्ष्य राखेको छ ।








