Category: News

  • ३ पूर्वप्रधानमन्त्री र २ पूर्वमन्त्रीको सम्पत्ति अनुसन्धान सुरु

    ३ पूर्वप्रधानमन्त्री र २ पूर्वमन्त्रीको सम्पत्ति अनुसन्धान सुरु

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो । छानबिनको दायरामा देउवा पुत्र जयवीरसिंह पनि परेका छन् ।

    विभागले तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री र जयवीर तथा उनीहरूका नातागोताका नाममा रहेको बचत, लगानी, कम्पनी र कारोबारको सम्बन्धमा विवरण संकलन गरी पेस गर्न नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्र लेखिसकेको छ । त्यस्तै, जग्गाजमिनको विषयमा विवरण संकलन गरी बुझाउन भूमि व्यवस्थापन तथा अभिलेख विभागमा बिहीबार पत्राचार गरिएको छ । पत्रबमोजिम विवरण संकलन भइरहेको सम्बद्ध निकायका अधिकारीले जानकारी दिएका छन् ।
    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि विवरण संकलन गरी पठाउन ७७ वटै जिल्लाका मालपोत कार्यालयलाई निर्देशन दिइएको भूमि व्यवस्थापन विभागका एक अधिकारीले जानकारी दिए । बैंक÷वित्तीय संस्थामा खोलिएका खाता र तिनमा भएको नगद, गरगहना र बैंकिङ कारोबारको विवरण राष्ट्र बैंकसँग मागिएको छ ।
    प्रहरीसँग पनि २४ भदौमा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाल तथा तत्कालीन मन्त्री खड्काका घरमा भेटिएका जलेका नोटका टुक्रा र खरानीको फरेन्सिक परीक्षणको रिपोर्ट मागिएको छ ।
    २४ भदौमा प्रदर्शनकारीले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी संयोजक दाहाल लगायतका नेताका घरमा आगजनी गरेका थिए । बूढानीलकण्ठस्थित देउवा र खड्काको निवासमा जलेका नोटका टुक्रासहितका भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए ।
    त्यस्तै, खुमलटारस्थित दाहालको निवासमा पनि पैसा जलेको दाबी गरिएको छ । विभागले ५ असोजमा देउवा र खड्का तथा ७ असोजमा दाहाल निवास पुगेर मुचुल्का कागज तयार पारेको थियो । मुचुल्का विवरण फरेन्सिक जाँचका लागि विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पठाएको थियो । त्यसको प्रतिवेदन ब्युरोले विभागलाई बुझाउन बाँकी छ ।
    सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्दा घर तथा ससुरालीतर्फ ३ पुस्तासम्मका आफन्तको सम्पत्ति, कम्पनी र कारोबारको जाँचबुझ हुन्छ । विभिन्न निकायबाट मागिएको विवरण प्राप्त भएपछि दोस्रो चरणको अनुसन्धान हुने र आरोपितसँग बयान लिने तयारी रहेको विभागका एक अधिकारीले बताए । ‘सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि मूलभूत रूपमा कम्पनी, बैंक÷वित्तीय संस्थामार्फत गरिएका कारोबार, घरजग्गा, सेयर, जीवनशैली लगायत विषय हुन्, अनुसन्धानका लागि सुरुमा यी विषय निक्र्योल हुनुपर्छ,’ उनले भने ।
    ‘त्यसपछि अनुसन्धानको दायरामा रहेका व्यक्तिमार्फत लाभ लिने नातागोता सबैलाई तहगत रूपमा जोड्दै अघि बढ्नुपर्ने हुन्छ । यसका लागि विभिन्न निकायबाट विवरण संकलन कार्य अघि बढाइएको छ,’ उनले भने ।
    लामो समयदेखि सत्ता र शक्तिमा रहेका देउवा, ओली र दाहालविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढेको यो पहिलो पटक हो । सार्वजनिक खरिद, विभिन्न नियुक्ति, सरुवा÷बढुवा, राष्ट्रिय सम्पत्ति हिनामिनालगायत अनेक प्रकरणमा पटकपटक विवादित भए पनि उनीहरूमाथि कहिल्यै अनुसन्धान भएको थिएन ।
    जेन–जी विद्रोहले तत्कालीन सरकार ढालेपछि बनेको अन्तरिम सरकारले भने उनीहरूमाथि अनुसन्धान अघि बढाएको हो । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला २०७४ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अन्तरिम सरकारले अर्थ मन्त्रालयमा फिर्ता गरिसकेको छ ।
    पूर्वप्रधानमन्त्री देउवा २०४८ देखि निरन्तर सार्वजनिक लाभको पदमा छन् । २०४८ पछिका सबै संसदीय र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट विजयी भएका थिए । उनी २०४८ मै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा गरी ५ पटक उनी प्रधानमन्त्री भए । देउवा पत्नी आरजु राणा देउवा २०६४, २०७० र २०७९ मा कांग्रेसबाट समानुपातिक सांसद भइन् । जेन–जी विद्रोहअघिसम्म ओली नेतृत्वको सरकारमा उनी परराष्ट्रमन्त्री थिइन् । प्रदर्शनकारीले २४ भदौमा निवासमै देउवा दम्पतीमाथि हातपात पनि गरेका थिए ।
    अर्का पूर्वप्रधानमन्त्री एवं माओवादी संयोजक दाहाल २०६२÷६३ को परिवर्तनपछि संसदीय राजनीतिमा सक्रिय भएका हुन् । त्यसयता उनी तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । शान्ति प्रक्रियामा आएपछि माओवादी लडाकुका लागि सरकारले दिएको भरणपोषण खर्च हिनामिना गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ । दाहाल विवादास्पद व्यवसायी शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका थिए, जुन घर २४ भदौमा प्रदर्शनकारीले आगजनी गरेका थिए ।
    ओली पनि सधैं सत्ता र शक्तिको केन्द्रमा रहेका नेता हुन् । २०५१ मा बनेको मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री रहेका ओली २०६२÷६३ को राजनीतिक परिवर्तनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री थिए । उनी २०७२, २०७४, २०७७ र २०८१ गरी चार पटक प्रधानमन्त्री भए ।
    ओलीमाथि विवादित व्यापारीलाई पोसेको, सरकारी÷सार्वजनिक सम्पत्ति कौडीको भाउमा सुम्पिएको आरोप लाग्दै आएको छ । पञ्चायतकालमै उद्योग सञ्चालनका लागि हदबन्दी छुटमा दिइएको झापाको गिरीबन्धु टी–इस्टेटको जग्गा हिनामिना गर्ने प्रपञ्चलाई साथ दिँदै कानुन संशोधन गरेको, मन्त्रिपरिषद्बाट निर्णय गराएको आरोप उनीमाथि छ ।
    कांग्रेस नेता खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएका बेला जलविद्युत् आयोजनाको लाइसेन्स दिँदा र ठेक्का लगाउँदा विवादमा मुछिएका थिए । जलस्रोत उत्पादनको लाइसेन्स र ठेक्का दिलाउन ‘मन्त्री क्वार्टर र मन्त्रालयमै बसेर’ चेक लेनदेन गरेको आरोप उनीमाथि लागेको थियो । तर उनीमाथि अनुसन्धान हुन सकेको थिएन । लैनचौरस्थित नेपाल स्काउटको जग्गा हिनामिनामा पनि उनी मुछिएका थिए । पार्टीका बलशाली नेताहरूको ‘सहयोगदाता’ का रूपमा पनि चिनिएका उनको आर्थिक स्रोतको खोजबिन नै भएन ।
    सडकमै उत्रिने गरी जेन–जी आक्रोशित हुनुमा पनि भ्रष्टाचारका अनेक प्रकरणमा निष्पक्ष अनुसन्धान नगरिनु, पहुँचवालालाई संरक्षण गरिनु मुख्य कारण थिए । जेन–जी आन्दोलनको मुख्य माग नै भ्रष्टाचार नियन्त्रण थियो । जेन–जी जन्मन थालेयता (२०५३ पुसयता) मात्र वाइडबडी जहाज खरिद, सुडान घोटाला, लडाकु शिविर अनियमितता, कर फछ्र्योटमा बेइमानी, सार्वजनिक जग्गा हिनामिना (ललिता निवास, पतञ्जलि जग्गा, गिरीबन्धु टी–इस्टेट, टीकापुर जग्गा, लिची बगान जग्गा, बाल मन्दिर र बाँसबारी जग्गा), नक्कली भुटानी शरणार्थी, भिजिट भिसा जस्ता अनियमितताका चर्चित प्रकरण भएका थिए ।
    कोरोनाकालमा औषधि÷उपकरण खरिदसम्बन्धी ओम्नी काण्ड, नेपाल ट्रस्टको जग्गामा अनियमितता, सुन तस्करी प्रकरण, सहकारी ठगी, सेक्युरिटी प्रेस खरिद, टेरामक्स, अन्तःशुल्क स्टिकर छपाइ, मेलम्ची आयोजनालगायत सम्बन्धी हिनामिनाका घटना भएका थिए । यी अधिकांश प्रकरणमा राजनीतिक दलका नेताहरू मुछिएका थिए ।

  • जुवा खेलिरहेका ११ जना पक्राउ

    जुवा खेलिरहेका ११ जना पक्राउ

    सुर्खेतको वीरेन्द्रनगरबाट जुवातास खेलिरहेको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका वीरेन्द्रनगर–८ खजुराबाट जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–८ को रुद्रप्रसाद खनाल, दुर्गबहादुर पुलामी, सुनिल गौतम, जगतबहादुर राना, सुरतबहादुर शाही, बिरजंग शाही, रेशम मल्ल, रमेश खाँण, दानबहादुर सिंह, वीरेन्द्रनगर–१० का अशोक कुमार खड्का र बिनोद मल्ल रहेका छन् ।
    उनीहरु रुद्रप्रसाद खनालको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुको साथबाट ५८ हजार ९४० रुपैयाँ नगद पनि बरामद गरिएको छ ।

  • निर्वाचनका विषयमा २९ राजनीतिक दलहरूसँग आयोगको छलफल

    निर्वाचनका विषयमा २९ राजनीतिक दलहरूसँग आयोगको छलफल

    निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूसँग छलफल गरेको छ ।
    बिहीबार सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दलहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबिच छलफल भएको हो ।
    दलहरूले घोषित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गरी राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी र मतदान गर्ने नागरिकहरूलाई निर्भयतापूर्वक निर्वाचनमा सहभागी हुने वातावरण बनाउनुपर्ने सुझाव आयोगलाई दिएका छन् ।
    त्यस्तै आचारसंहिताको पूर्णरुपमा पालना गराउनुपर्ने, निर्वाचनलाई कम खर्चिलो बनाउनुपर्ने एवम् विद्यमान विषम परिस्थितिमा हुन लागेको निर्वाचन भएकोले सम्बद्ध पक्षसँग निरन्तर छलफल हुनुपर्ने सुझाव समेत राजनीतिक दलहरुले दिएका छन् ।
    छलफलमा निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले आवधिक निर्वाचनभन्दा फरक समय र परिस्थितिमा हुन गइरहेको आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सबै राजनीतिक दलहरुलाई सक्रियतापूर्वक सहभागी हुन अनुरोध गरे ।
    आयोगको तर्फबाट सरकारसँग पटक–पटक छलफल भएको उनले बताए । सरकारको तर्फबाट पूर्ण प्रतिबद्धता प्राप्त भएको, शान्ति सुरक्षा लगायत निर्वाचनमय वातावरण बनाई कसैले कसैलाई पनि निर्वाचनमा निषेधको राजनीति नगर्न आयोगको तर्फबाट सबै पक्षलाई आग्रह गरिसकिएको बताउँदै भण्डारीले तोकिएको समयमा निर्वाचन हुने विश्वास दिलाए ।

  • आठ बर्षमा २५० किलोमितर सडक कालोपत्र

    आठ बर्षमा २५० किलोमितर सडक कालोपत्र

    कर्णाली प्रदेश सरकारले आफ्नो आठ बर्षको अवधिमा करिब साढे २ सय किलोमिटर सडक कालोपत्रे गरेको छ । स्थापना भएयता प्रदेश सरकारले सडक पूर्वाधारलाई प्रमुख प्राथमिकताका क्षेत्रमध्येमा राखेको छ । सरकारले प्रत्येक बर्ष १०–१२ अर्ब रुपैयाँ पूर्वाधारका क्षेत्रमा विनियोजन गर्दै आएको छ । २०७४ देखि २०८२ साल असार मसान्तसम्मको प्रगति विवरणअनुसार प्रदेश सरकारको लगानीबाट प्रदेशभर २४९.५८ किलोमिटर सडक कालोपत्रे भएको देखिन्छ ।
    प्रदेश संरचना कार्यान्वयन सुरु भएको केही वर्ष पक्की सडक निर्माण कर्णाली प्रदेश सरकारको प्राथमिकतामा परेको थिएन । सुरुमा सरकारले नयाँ ट्र्याक खोल्न लगानी गरेको थियो । २०७४ देखि २०८० सम्म सरकारले प्रदेशभर ७८.९५ किलोमिटर सडक मात्र कालोपत्र गरेको थियो । पछिल्लो आर्थिक वर्ष ०८१÷०८२ को एक बर्ष मात्र ७२.८३ किलोमिटर सडक कालोपत्रे भएको छ । त्यस बीचमा भएको सडकको प्रगतिअनुसार लगभग ढाइ सय किलोमिटर पक्की सडक प्रदेश सरकारको लगानीमा बनेको छ ।
    भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार पक्की गरिएको सडकमध्ये सुर्खेतमा सबैभन्दा धेरै सुर्खेतमै पर्छ । ‘स्थापनाकालदेखि अहिलेसम्म हेर्दा सबैभन्दा धेरै पक्की सडक सुर्खेतमा निर्माण भयो, त्यसमा पनि राजधानी वीरेन्द्रनगरमा धेरै छ,’ सुवेदीले भने, ‘कुल पक्की सडक निर्माणको आधाभन्दा बढी पक्की सडक निर्माण त सुर्खेतमा मात्रै भएको छ ।’
    प्रदेश सरकाले आफ्नो यो अवधिमा प्रदेशभर ३ हजार १६२ किलोमिटर सडकको ट्र्याक खोलेको छ । आर्थिक वर्ष ०८०÷८१ सम्म २ हजार ८४४ किलोमिटर नयाँ सडक प्रदेश सरकारको लगानीमा खुलेको थियो । त्यसयता ३१८ किलोमिटर सडकको ट्र्याक खोलिएको मन्त्रालयले जनाएको छ । पछिल्लो बर्ष सुर्खेतमा ५७.१५, दैलेखमा १७.९, सल्यानमा २६.४३, रुकुम पश्चिममा १२.८६, जाजरकोटमा ७१.८४, डोल्पामा ४८.८, जुम्लामा १६.६७, मुगुमा १४.६, कालिकोटमा १०.२, हुम्लामा ४१.४५ किलोमिटर सडकको ट्र्याक खोलिएको मन्त्रालयले जनाएको छ ।
    २०७४ यता प्रदेश सरकारको लगानीमा ७१३.६५ किलोमिटर सडक ग्राभेल गरिएको छ । ६४४.७५ किलोमिटर सडकमा नाला र अन्य मर्मतको काम गरिएको छ । आर्थिक बर्ष २०८१÷२०८२ मा २०० भन्दा बढी सडक योजनामा काम भएको मन्त्रालयले जनाएको छ ।
    पछिल्लो समय प्रदेश सरकारले सडक आयोजनाहरुलाई वैज्ञानिक र वस्तुगत बनाउन ‘प्रादेशिक सडक सञ्जाल गुरुयोजना’ बनाएको छ । उक्त गुरुयोजनामा प्रादेशिक लोकमार्ग र प्रादेशिक सडकका रुपमा प्राथमिककिरण गरिएको छ । प्रदेशभित्र यी प्राथमिकतामा पर्ने सडकहरुलाई बाह्रै महिना सञ्चालनमा रहनेगरि स्तरोन्नत्रि र पुल निर्माणको कामलाई अघि बढाईएको मन्त्रालयले जनाएको छ । त्यसका लागि क्रमागत रुपमा रहेका र चालु आर्थिक वर्षदेखि सुरु हुने आयोजनाहरुका लागि यो बर्ष १ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशभर हालसम्म ५३ वडा सडक पुल निर्माण भएको प्रगति विवरण मन्त्रालयसँग छ ।
    योजना तर्जुमा प्रक्रिया वैज्ञानिक नहुँदा बनेका टुक्रे योजनाका कारण प्रदेश सरकारलाई सडक योजना निर्माण गर्न चुनौती देखिएको छ । टुक्रे योजनाले सडकको गुणस्तर कायम गर्न समेत चुनौती देखिएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिमा हुने ढिलाइ, जग्गा प्राप्ति जस्ता झन्झटिलो प्रक्रियाका कारण पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयनमा अवरोध पुग्ने गरेको छ । प्राविधिक जनशक्तिको अभाव, निर्माण व्यवसायीको गैरजिम्मेवारीपन, अपर्याप्त बजेट जस्ता कारणले पनि सडक पूर्वाधार निर्माण तथा स्तरोन्नतिमा चुनौती थपेको छ ।
    कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷०८३ मा थप १२० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ । अहिले साढे ६ सय सडक आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । ती सडकमध्ये १०० भन्दा बढी बहुवर्षीय सडक आयोजनाहरु रहेका छन् । प्रादेशिक लोकमार्ग, प्रादेशिक सडक तथा अन्य सडकहरु निर्माण, स्तरोन्नति तथा मर्मतसम्भार कार्यका लागि चालु आर्थिक बर्षको बजेटबाट ४ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै यो आर्थिक वर्षभित्र २५ वटा सडक पुलहरु निर्माण गर्ने लक्ष्य कर्णाली प्रदेश सरकारले लिएको छ ।

  • गुठीचौर गाउँपालिकाले सुशासन अभियान चलाउँदै

    गुठीचौर गाउँपालिकाले सुशासन अभियान चलाउँदै

     

    जुम्लाको गुठीचौर गाउँपालिकामा सुशासन अभियान सुरु भएको छ । आर्थिक रुपमा पारदर्शिता र सेवा प्रवाहका हिसाबले पनि निकै अब्बल पालिका बनाउन सुशासन अभियान सुरु भएको हो । बुधबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै गुठीचौर गाउँपालिकाले जेनजी पुस्ताको आवाज सम्बोधन गर्न पनि सुशासन अभियान सुरु गरेको जनाएको छ ।
    ‘अब पालिकामा हुने अनियमितता नियन्त्रण, सवारीसाधनको दुरुपयोग रोकथाम, भ्रमण भत्तामा अनुशासन कायम गर्नुका साथै निस्वार्थ भावनाका साथ सेवा सञ्चालने हुनेछ,’ पालिका अध्यक्ष दानबहादुर बुढाले भने, ‘अब सुशासन र पारदर्शिताका क्षेत्रमा कर्णालीकै अब्बल पालिका बनाउने अभियानको मर्म छ ।’
    अध्यक्ष बुढाले अबदेखि आफूले पनि सवारीसाधनको प्रयोग नगर्ने प्रतिबद्धता जाहेर गरेका छन् । ‘म पनि सरकारी काममा बाहेक सवारीसाधनको प्रयोग गर्दिनँ,’ उनले भने, ‘अरुले पनि सरकारी कामबाहेक व्यक्तिगत प्रयोजनमा सवारीसाधन प्रयोग गर्न पाउने छैनन् ।’ ‘अहिलेसम्म हामीले कार्यालय समयबाहेक पनि घरमा सवारीसाधन लैजाने ग¥यौं, यसले राम्रो प्रभाव परेन,’ अध्यक्ष बुढाले थपे, ‘अब सवारीसाधनको दुरुपयोग पूर्णरूपमा रोकिनेछ ।’ सबै कर्मचारीले कार्यालय समयमा अनिवार्य उपस्थित हुनुपर्ने, जनसेवामा समर्पित हुनुपर्ने, कुनै पनि व्यक्तिगत काममा सरकारी साधनको प्रयोग गर्न नपाइने गरेर सुशासन अभियानको प्रारम्भ भएको उनको भनाइ थियो ।
    उनले घर टाढा भएका कर्मचारीको हकमा आवासको व्यवस्थापन गर्न सकिने बताए । उनले १९ कर्मचारी कटौती गरिएको पनि बताए । अहिलेसम्म भएका सबै कमजोरी सुधार गर्दै अब स्थानीय सरकार असल अभिभावक हो भन्ने सन्देश फैलाउन कटिबद्ध भएर लाग्ने गुठीचौर गाउँपालिकाको प्रतिबद्धता छ । प्रमुख प्रशासकीय अधिकृत माया बुढाले सुशासन अभियान सञ्चालन गर्न भएका निर्णयहरु कार्यन्वयनमा लैजाने बताइन् ।

  • प्रदेश खेलकुदको सदस्य सचिव नियुक्ति बदर

    प्रदेश खेलकुदको सदस्य सचिव नियुक्ति बदर

     

    कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवको नियुक्ति अदालतले बदर गरेको छ । प्रदेश सरकारले गरेको उक्त नियुक्ति उच्च अदालत सुर्खेतले बदर गरिदिएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सामाजिक विकास मन्त्रालयका उपसचिव जवाहरलाल हमाललाई सदस्य–सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । उच्च अदालत सुर्खेतले प्रदेश सरकारले गरेको निर्णय बदर गर्दै विपक्षीका नाममा परमादेश जारी गरेको हो ।
    सरकारको उक्त निर्णयका विरुद्ध अधिवक्ता शेरबहादुर खत्री र उपेन्द्रकुमार रावतले रिट दायर गरेका थिए । कानुनी व्यवस्थाविपरीत कर्मचारीलाई नियुक्ति गरिएको भन्दै जेठ २६ गते उच्च अदालतमा रिट दायर गरेका थिए । हमाललाई आर्थिक अधिकारसहित कामकारबाही गर्ने गरी नियुक्त गरिएको थियो । अदालतले असार १ गते नै रिटमा अन्तरिम आदेश जारी गर्दै हमाललाई सदस्य सचिवका रुपमा काम गर्न रोक लगाइसकेको थियो ।
    न्यायाधिषद्वय हरिप्रसाद जोसी र कोमलबहादुर खत्रीको मंगलबारको इजलासले गर्दै प्रदेश सरकारले गरेको निर्णय प्रदेश खेलकुद विकास ऐनविपरित सदस्य सचिव नियुक्ति र अधिकार प्रत्यायोजन गरेकाले बदर गर्न फैसला गरेको हो । यसका साथै ऐनविपरित नियुक्ति भएको सदस्य सचिवको हैसियतले गरिएका निर्णय समेत खारेज गर्न उत्प्रेषणसहितको परमादेश जारी गरिएको छ ।

  • सुर्खेतमा डेङ्गीका सबैभन्दा बढी संक्रमित, रेडजोनमा वीरेन्द्रनगर

    सुर्खेतमा डेङ्गीका सबैभन्दा बढी संक्रमित, रेडजोनमा वीरेन्द्रनगर

    लामखुट्टेको टोकाइबाट डेङ्गीका बिरामी संख्या कर्णाली प्रदेशभर सबैभन्दा धेरै वीरेन्द्रनगरमा छन् । प्रदेशभर ३४० जनामा डेङ्गी पुष्टी हुँदा सुर्खेतमा मात्र २४८ जना बिरामी देखिएका छन् । स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कअनुसार सुर्खेतका बिरामीमध्ये पनि वीरेन्द्रनगरमा सबैभन्दा धेरै रहेका छन् । प्रदेश अस्पताल र जिल्लास्थित सरकारी कार्यालयमा उपचारका लागि आउने बिरामीहरुमा पुष्टी भएको डेङ्गीका आधारमा निर्देशनालयले तथ्याङ्क तयार पारेको हो ।
    निर्देशनालयमा भएको तथ्याङ्कअनुसार यो बर्ष प्रदेशका हुम्ला र डोल्पाबाहेक आठ वटा जिल्लामा डेङ्गीका बिरामी भेटिएका छन् । मुगुमा १, जुम्लामा ४, कालिकोटमा ८, दैलेखमा ५८, जाजरकोटमा ४, रुकुम पश्चिममा ७, सल्यानमा १० जनामा डेङ्गी सक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो तथ्याङ्क डेङ्गी पुष्टि भई सरकारी उपचार गराएकाहरुको मात्र हो । निजी स्वास्थ्य संस्थामा उपचार गराएका र डेङ्गी संक्रमण पुष्टि भएकाहरुको तथ्याङ्क भने निर्देशनालयसँग् छैन । तथ्यांक निर्देशनालयसँग छैन ।
    तथ्याङ्कलाई आधार मान्ने हो भने डेङ्गी संक्रमण धेरै हुने सुर्खेत पछिको जिल्ला दैलेखको हो । यद्यपि लामखुट्टेको प्रभाव र डेङ्गीको संक्रमणका आधारमा वीरेन्द्रनगर ‘रेड जोन’ मा देखिएको छ । वीरेन्द्रनगर प्रदेश राजधानी भएकाले धेरै मानिसको बसोवास स्थलका रुपमा रहेको छ । डेङ्गी संक्रमण गराउने लामखुट्टे बस्नका लागि उपयुक्त स्थान पनि वीरेन्द्रनगरमै बढी हुने गरेको छ । यो लामखुट्टे विशेषगरि सफा पानी वा त्यस्तै ठाउँमा बढी हुर्किने गर्छ ।
    डेङ्गी सार्ने जातको लामखुट्टे बस्ने स्थानको बृद्धि हुँदै जाँदा विशेष गरी वीरेन्द्रनगर यसको रेडजोनमा पर्ने गरेको निर्देशनालयका फोकल पर्सन श्याम आचार्य बताउँछन् । डेङ्गी संक्रमण गराउने लामखुट्टेको जोखिम कर्णालीका १० वटै जिल्लामा रहेपनि दुई जिल्लामा संकक्रमण पुष्टी नभएको उनले बताए । ‘हरेक वर्ष साउन महिनाबाट डेंङ्गी संक्रमण क्रमशः वृद्धि हुँदै जाने भएकाले सुरुवाती चरणमै व्यापक प्रचारप्रसार र समुदाय परिचालनमार्फत यसको नियन्त्रणका लगि काम गरिन्छ, तैपनि जोखिम कायमै छ,’ उनले भने, ‘डेङ्गी नियन्त्रणको मुल आधार लामखुट्टेको प्रजनन्स्थल खोजेर नष्ट गर्नु हो, त्यो पूर्णरुपमा सम्भव पनि छैन ।’
    स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यो बर्ष मात्र डेङ्गी संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । विशेषगरि तराईका जिल्लामा बढी देखिने डेङ्गीको संक्रमण पछिल्लो समय चिसो मौसम हुने पहाडी तथा हिमाली जिल्लामा पनि देखिएको छ । जलवायु परिवर्तन, मानिसहरुको आवागमन, अव्यवस्थित सहरीकरण लगायतका कारण लामखुट्टेलाई सहजै बाँच्ने वातावरण बन्दै गएपछि चिसो मौसम हुने ठाउँमा पनि डेङ्गी संक्रमण देखिएको छ ।
    डेङ्गी सार्ने लामखुट्टेको वयस्क नहुँदासम्मको करिब ८० प्रतिशत जिवनचक्र (अण्डा, लार्भा र प्यूपा अवस्था) पानी भित्र वा पानीको सतहमा हुने गर्छ । यसको मुल स्रोतलाई निर्मुल नगरी उडिरहेका वयस्क लामखुट्टेलाई मात्र लक्षित गरेर डेङ्गी संक्रमण नियन्त्रण गर्न नसकिने निर्देशनालयका फोकल पर्सन आचार्य बताउँछन् । साउनदेखि कात्तिक महिनासम्म यो प्रजातिको लामखुट्टेको प्रजननको जोखिम बढी हुने भएकाले यी महिनाहरुमा थप सचेत भई कम्तीमा हप्ताको एकपटक समुुदायस्तरमा लामखुट्टेका प्रजनन् स्थल खोजेर नष्ट गर्ने अभियानलाई निरन्तरता दिईएको उनले बताए ।
    ‘भदौ र असोजमा पानी जम्ने, गर्मी र आद्रता उच्च हुने कारण संक्रमणको दर सबैभन्दा बढी हुन्छ, कात्तिकतिर मौसम चिसिदै जाँदा जोखिम घट्दै जान्छ,’ आचार्य भन्छन्, ‘यसको उपचार पद्धति हुँदैन, संक्रमण हुनबाट बच्नु र संक्रमणपछि खानपान तथा हिँड्डुलमा ध्यान दिनु उपयुक्त विकल्प हो ।’
    स्वास्थ्यकर्मीका अनुसार डेङ्गी सामान्य वा गम्भीर दुवै किसिमको हुन सक्छ । यसको लक्षण पनि फरक–फरक देखिन्छन् । सामान्य डेङ्गी हुँदा खासगरी बालबालिका र किशोरकिशोरीहरुमा कुनै लक्षण देखिँदैन । डेङ्गीको संक्रमण भएको ४ देखि ७ दिनभित्रमा हल्का लक्षणहरु देखिन थाल्छन् । यो अवस्थामा उच्च ज्वरोका साथै टाउको दुख्ने, मांसपेशी, हड्डी र जोर्नीहरुमा दुखाइ, बान्ता हुने, वाकवाकी लाग्ने, आँखा दुख्ने, छालामा दाग देखिने जस्ता लक्षण देखा पर्छन् ।
    गम्भीर खालको संक्रमण हुँदा हेमोरेजिक ज्वरो वा डिएफएच (डेङ्ग हेमोरेजिक ज्वरो) को विकास हुने जोखिम बढ्छ । यस्तो अवस्थामा रक्तनलीमा क्षति पुग्छ र रगतमा प्लेटलेटको मात्रा कम हुन थाल्छ । यस्तो अवस्थामा बढी पेट दुख्ने, लगातार बान्ता हुने, वा नाकबाट रगत बग्ने, पिसाब, दिसा वा बान्तामा रगत देखिने, छालामुनि रगत बग्ने, सास फेर्न गाह्रो हुने, थकान महसुश, चिडचिडापन वा बेचैनी हुने जस्ता लक्षणहरु देखिन्छन् ।

  • एमाले माहाधिवेशन मंसिरमा प्रस्ताव

    एमाले माहाधिवेशन मंसिरमा प्रस्ताव

    नेकपा एमालेको महाधिवेशन मंसिर मसान्तमा गर्ने गरी प्रस्ताव भएको छ । बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
    अध्यक्ष ओलीले महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव पनि गरेका छन् । अध्यक्ष ओलीले केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रस्तावमा ११ औं महाधिवेशन मिति र स्थानबारे उल्लेख गरिएको छ ।
    त्ययसअघि सचिवालय बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । ओलीले राखेको महाधिवेशन सम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीको वैठकबाट अनुमोदन गर्नुपर्छ । अब बस्ने कमिटीको वैठकले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

  • विशेष महाधिवेशन माग गर्दै बुझाइयो हस्ताक्षर

    विशेष महाधिवेशन माग गर्दै बुझाइयो हस्ताक्षर

    नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् । नेता गुरुराज घिमिरेका अनुसार विशेष महाधिवेशन माग गर्दै बुधबार केन्द्रीय कार्यालय सानेपा पुगेर महाधिवेशन प्रतिनिधिरुको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको हो ।
    उनकाअनुसार ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरिएको हो। महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्न निवेदन पत्र कार्यवाहक सभापति खड्कालाई बुझाएका छन् । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र त्यस्तो विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
    कार्यवाहक सभापति खड्काले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गरेको हस्ताक्षरसहितको फाइल बुझेका हुन् । उनले उक्त फाइल बुझेपछि ‘जय नेपाल’ मात्रै भनेका थिए, थप अभिव्यक्ति दिएका थिएनन् । कांग्रेसभित्र मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने माग पनि भइरहेको छ ।

  • जुम्लाका किसानलाई धान भित्र्याउने चटारो

    जुम्लाका किसानलाई धान भित्र्याउने चटारो

     

    जुम्लाका किसानलाई अहिले मार्सी धान भित्र्याउन भ्याइनभ्याइ छ । उनीहरु एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान भित्र्याउने कार्यमा व्यस्त हुने गरेका छन् । विश्वको उच्च स्थानमा फल्ने उपमा पाएको मार्सी धान अहिले रोग किराको संक्रमणका कारण उत्पादन घट्दै गए पनि किसानहरुले खेती गर्न छाडेका छैनन् । मार्सी धान उत्पादनमा कमी भए पनि बजारमा माग र मूल्य अधिक छ । अधिकांश किसानले थोरबहुत उत्पादन भएको मार्सी धानको चामल सदरमुकाममा रहेका कोशेली घरहरुमा बेच्ने गरेका छन् । दसैं सुरु भएसँगै जुम्ली किसान धान भित्र्याउने कार्यमा जुटेका हुन् ।
    मार्सी धानको आफ्नै क्यालेण्डर छ । त्यही क्यालेण्डरका आधारमा किसानहरु धान भित्र्याउन लागेको स्थानीय गणेश रावलले जानकारी दिए । उनका अनुसार अहिले मार्सी धानका फाँटहरुमा किसानहरु व्यस्त छन् । यो धान चैतमा बीउ राख्ने, जेठ÷असारमा रोपाइँ गर्ने, साउन भदौमा गोड्ने र असोज–कात्तिकभित्र घर भित्र्याइन्छ ।
    कृषि विकास कार्यालयका अनुसार आव २०८०÷८१ मा जुम्ली मार्सी धान तीन हजार तीन हजार मेट्रिक टन उत्पादन भएको थियो । जसमध्ये दुई सय मेट्रिक टन जिल्लाबाहिर निर्यात भएको थियो । जुम्लाको तातोपानी, गुठिचौर, पातारासी, चन्दननाथ, सिँजा र हाँकु क्षेत्रका किसान अहिले खेतमै रमाइरहेका छन् । अहिले किसानले मार्सी धानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको चन्दननाथ १ र चन्दननाथ ३ का साथै लेकाली १ र लेकाली ३ जातको धान समेत रोप्ने गरेका छन् ।
    जुम्ली मार्सी धान पहिचानसँग जोडिएको र महँगोमा किनबेच हुने भएकोले किसानले रोग किराको संक्रमणका बीच पनि रोप्न छाडेका छैनन् । अहिले मार्सी चामल सदरमुकाम खलंगामा प्रतिकेजी १८० रुपैयाँमा किनबेच भइरहेको छ । कर्णालीमा घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकले मार्सी चामल लैजाने गरेका हुन् । मार्सी चामल अडिलो, स्वादिलो र पोषिलो हुने भएकोले ठूला होटलहरुको खान्कीसमेत बनेको छ ।