सुर्खेत । सल्यानको शारदा नगरपालिकाले नगरवासीलाई दीगो, सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी खानेपानी क्षेत्रमा केन्द्रित गरेको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण, संघीय सरकार, कर्णाली प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भइरहेका जर्खु लिफ्टिङ खानेपानी आयोजना तथा खैरावाङ सामुदायिक खानेपानी आयोजना तीव्र गतिमा अघि बढिरहेका छन् । यी दुवै आयोजना सम्पन्न भएपछि नगरका १७ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन् ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत निर्माणाधीन तथा नयाँ खानेपानी आयोजनाहरूलाई निरन्तरता दिन ४५ करोड ७२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । खानेपानीलाई आधारभूत नागरिक अधिकारका रूपमा स्थापित गर्दै नगरका सबै घरधुरीमा स्वच्छ र नियमित खानेपानी सेवा पु¥याउने लक्ष्यसहित यो लगानी गरिएको नगरपालिकाले जनाएको छ ।
जर्खु आयोजना ः सात वडाका नागरिकलाई दीगो खानेपानी
हाल निर्माणाधीन जर्खु लिफ्टिङ खानेपानी आयोजना शारदा नगरपालिकाको सबैभन्दा ठूलो खानेपानी आयोजना हो । ४२ करोड रुपैयाँ लागतको यो आयोजना संघीय खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना मार्फत कार्यान्वयन भइरहेको छ ।
यो आयोजना सम्पन्न भएपछि नगरपालिकाका वडा नम्बर ४, ५, ६, ८, ९ र १० का २ हजार ६ सय ८५ घरधुरीका १० हजार ७ सय ४० नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजनाले हालसम्म ३५ प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको छ ।
आयोजना कार्यान्वयन इकाईका परियोजना व्यवस्थापक दिपक महर्जनका अनुसार वडा नम्बर १० स्थित जर्खु मुहानबाट लिफ्ट प्रविधिमार्फत पानी उठाएर सिद्ध पार्कमा निर्माण भइरहेको चार लाख लिटर क्षमताको मुख्य रिजर्भ ट्याङ्कीमा संकलन गरिनेछ । त्यहाँबाट आधुनिक वितरण प्रणालीमार्फत सम्बन्धित वडाका प्रत्येक घरधुरीमा सुरक्षित खानेपानी पु¥याइनेछ ।
लिफ्ट प्रविधिमार्फत पानी आपूर्ति
शारदा नगरपालिकाको भौगोलिक बनावटलाई मध्यनजर गर्दै आयोजनामा अत्याधुनिक लिफ्ट प्रविधि प्रयोग गरिएको छ । मुहानदेखि मुख्य ट्याङ्कीसम्म ५ दशमलव ५ किलोमिटर डीआई पाइपलाइन विस्तार गरिनेछ भने सो मार्गमा पाँच स्थानमा लिफ्ट स्टेशन निर्माण गरिनेछन् ।
हाल मुहान क्षेत्रमा इन्टेक, पानी प्रशोधन केन्द्र, मुख्य पाइपलाइन तथा सिद्ध पार्कस्थित मुख्य ट्याङ्की निर्माणको काम एकसाथ भइरहेको छ । आयोजना अन्तर्गत लिफ्ट प्रणाली रहने पाँच स्थानमा दुई–दुई लाख लिटर क्षमताका ट्याङ्की समेत निर्माण भइरहेका छन् ।
प्रत्येक घरसम्म खानेपानी पु¥याउन विस्तार गरिने ९९ किलोमिटर वितरण पाइपलाइनमध्ये ४२ किलोमिटर पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । आयोजना सम्पन्न भएपछि ११ केभी विद्युत् प्रयोग गरी प्रतिक्षण ११ लिटर पानी लिफ्ट गरेर नागरिकको घर–घरमा पु¥याइनेछ ।
खैरावाङ आयोजनाबाट थप तीन वडामा सेवा विस्तार
जर्खु आयोजनाले नसमेटिएका क्षेत्रलाई लक्षित गर्दै वडा नम्बर १, ११ र १२ मा खैरावाङ सामुदायिक खानेपानी आयोजना पनि निर्माण भइरहेको छ । २५ करोड ४३ लाख रुपैयाँ लागतको यो आयोजना गत वैशाखदेखि सुरु भएको हो । आयोजनाबाट १ हजार १ सय ९९ घरधुरीका ६ हजार ५ सय ३८ नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । हाल आयोजनाको १२ प्रतिशत भौतिक प्रगति भएको छ ।
वडा नम्बर १ स्थित शारदा नदी किनारमा बोरिङ गरी पानी संकलन गरिनेछ । त्यहाँबाट करिब ५ दशमलव ५ किलोमिटर मुख्य पाइपलाइन मार्फत पानी मुख्य ट्याङ्कीसम्म पु¥याइनेछ भने ५२ किलोमिटर वितरण सञ्जाल विस्तार गरी प्रत्येक घरमा धारा जडान गरिनेछ । आयोजना २०८४ भदौ ७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोग
यी आयोजना विश्व बैंकको ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन भइरहेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कार्यान्वयन भइरहेका हुन् । कार्यक्रम कर्णाली र सुदूरपश्चिम प्रदेशका छ स्थानीय तह, वीरेन्द्रनगर नगरपालिका, शारदा नगरपालिका, दिपायल सिलगढी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा सञ्चालन भइरहेको छ । कार्यक्रमको कुल लागत एक सय मिलियन अमेरिकी डलर रहेको छ ।
तीन तहको सरकारको लागत साझेदारी
संघीयता कार्यान्वयनपछि खानेपानीजस्ता ठूला पूर्वाधार आयोजना तीन तहका सरकारको लागत साझेदारीमा सञ्चालन भइरहेका छन् । जर्खु आयोजनामा ८० प्रतिशत संघीय सरकार, १३ प्रतिशत कर्णाली प्रदेश सरकार र ७ प्रतिशत शारदा नगरपालिकाको लागत साझेदारी रहेको छ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि जर्खु र भेरी लिफ्ट खानेपानी आयोजनाका लागि ३० करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ ।
एक वर्षभित्र सबै नागरिकलाई सुरक्षित खानेपानी
नगर प्रमुख प्रकाश भण्डारीले नगरपालिकाको भौगोलिक अवस्थाका कारण लिफ्ट प्रविधिबाट खानेपानी आपूर्ति गर्नु चुनौतीपूर्ण भए पनि त्यसलाई अवसरका रूपमा लिएर काम भइरहेको बताए । उनले निर्वाचित भएदेखि नै नगरका सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ ठूला र साना दुवै प्रकारका लिफ्ट खानेपानी आयोजना अघि बढाइएको जानकारी दिए ।
भण्डारीका अनुसार जर्खु र खैरावाङ आयोजना सम्पन्न भएपछि नगरका अधिकांश नागरिक सुरक्षित खानेपानी सेवाको पहुँचमा पुग्नेछन् । त्यसबाहेक खानेपानीको समस्या रहेका अन्य बस्तीमा पनि साना लिफ्ट खानेपानी योजना सञ्चालन भइरहेका छन् ।
चार वर्षमा एक अर्बभन्दा बढी लगानी
नगर प्रमुख भण्डारीले पछिल्लो चार वर्षको अवधिमा मात्रै शारदा नगरपालिकामा खानेपानी क्षेत्रमा एक अर्ब रुपैयाँभन्दा बढी लगानी भएको बताएका छन् । उनका अनुसार शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीलाई नगरपालिकाको प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरिएको छ । सीमित स्रोत–साधनका बाबजुद नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेर विकासका कार्यक्रम अघि बढाइएको उनले बताए ।
शारदा नगरपालिकामा निर्माणाधीन यी दुवै आयोजना निर्धारित समयमै सम्पन्न भए आगामी एक वर्षभित्र नगरका हजारौं नागरिकको घर–घरमा दीगो, स्वच्छ र नियमित खानेपानी सेवा पुग्ने विश्वास गरिएको छ । यसले नगरको जनस्वास्थ्य, सरसफाइ र जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।








