२०८३ असार २३ , मंगलबार
सम्पादकीय

दीगो खानेपानीतर्फ शारदाको दूरदर्शी कदम



नागरिकको आधारभूत आवश्यकतामध्ये स्वच्छ, सुरक्षित र नियमित खानेपानी सबैभन्दा महत्वपूर्ण सेवा हो । गुणस्तरीय खानेपानीको पहुँचले जनस्वास्थ्य, सरसफाइ, शिक्षा र आर्थिक गतिविधिसम्म प्रत्यक्ष प्रभाव पार्छ । यही यथार्थलाई आत्मसात् गर्दै सल्यानको शारदा नगरपालिकाले खानेपानी क्षेत्रमा गरेको ठूलो लगानी विकासप्रतिको जिम्मेवार सोचको उदाहरण बनेको छ । विश्व बैंक, संघीय सरकार, कर्णाली प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भइरहेका जर्खु लिफ्टिङ तथा खैरावाङ सामुदायिक खानेपानी आयोजनाले नगरका १७ हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

शारदा नगरपालिकाको भौगोलिक बनावटका कारण धेरै बस्तीमा खानेपानी पु¥याउनु चुनौतीपूर्ण छ । यस्ता कठिनाइलाई लिफ्ट प्रविधिको प्रयोगमार्फत समाधान गर्ने प्रयासले स्थानीय सरकारको दूरदर्शिता देखाउँछ । आगामी आर्थिक वर्षमा मात्रै खानेपानी क्षेत्रमा ४५ करोड ७२ लाख ५० हजार रुपैयाँ विनियोजन गर्नु र पछिल्ला चार वर्षमा एक अर्बभन्दा बढी लगानी हुनु यस क्षेत्रलाई नगरपालिकाले दिएको उच्च प्राथमिकताको प्रमाण हो । यद्यपि, ठूलो लगानीसँगै ठूलो जिम्मेवारी पनि जोडिएको हुन्छ । आयोजना समयमै सम्पन्न हुनु, निर्माणको गुणस्तर कायम हुनु, विद्युत् आपूर्ति नियमित रहनु, मर्मतसम्भार प्रभावकारी हुनु र पानीका स्रोतहरूको संरक्षण गरिनु उत्तिकै आवश्यक छ । विकासको सफलता बजेट खर्चमा होइन, नागरिकले सहज र गुणस्तरीय सेवा पाएको अनुभूतिमा मापन गरिन्छ ।

खानेपानीको सहज पहुँचले महिलाको श्रमभार घटाउने, स्वास्थ्यमा सुधार ल्याउने, सरसफाइ प्रवद्र्धन गर्ने र समग्र जीवनस्तर उकास्ने महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले खानेपानीमा गरिएको लगानीलाई केवल पूर्वाधार निर्माणका रूपमा होइन, स्वस्थ र समृद्ध समाज निर्माणमा गरिएको दीर्घकालीन लगानीका रूपमा बुझ्नुपर्छ । निर्माणाधीन आयोजना निर्धारित समयमै सम्पन्न भई प्रभावकारी रूपमा सञ्चालनमा आए शारदा नगरपालिका खानेपानी व्यवस्थापनमा अनुकरणीय स्थानीय तहका रूपमा स्थापित हुनेछ । नागरिकको आधारभूत आवश्यकतालाई केन्द्रमा राखेर गरिएको यस्तो लगानीले स्थानीय सरकारप्रतिको विश्वास अझ बलियो बनाउनेछ र समृद्ध नगर निर्माणको आधारसमेत तयार गर्नेछ ।

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार