२०८३ असार ३१ , बुधबार
फ्रन्ट पेज

कर्णालीमा विद्युत् सेवा सुधारका लागि यान्त्रिक क्रेन उपलब्ध

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको पहलमा खरिपाटीस्थित ट्रान्सफर्मर वर्कसपको क्रेन कर्णाली पठाउने निर्णय गरिएको हो । यसबाट विद्युत् मर्मत कार्य छिटो हुने, लाइन अवरोधको समय घट्ने र सेवा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।


सुर्खेत । कर्णाली प्रदेशमा विद्युत् आपूर्तिलाई थप भरपर्दो, प्रभावकारी र दिगो बनाउन नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक यान्त्रिक क्रेन उपलब्ध गराइने भएको छ । लामो समयदेखि विद्युत् प्रसारण लाइनमा समस्या आउँदा मर्मतका लागि आवश्यक उपकरण अभावका कारण सेवा पुनःस्थापनामा ढिलाइ हुँदै आएको अवस्थामा सरकारले यस्तो निर्णय गरेको हो।

यससँगै कर्णालीका उपभोक्ताले पटक–पटक भोग्दै आएको लामो विद्युत् अवरोधको समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गत असारको दोस्रो सातामा कर्णाली प्रदेशसहित तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमन गरेका थिए । अनुगमनका क्रममा सुर्खेतलगायत जिल्लामा बारम्बार हुने लाइन ट्रिपिङ, विद्युत् आपूर्ति अवरुद्ध हुने समस्या तथा मर्मतका लागि आवश्यक यान्त्रिक उपकरणको अभावबारे विस्तृत जानकारी लिएका थिए ।

त्यसक्रममा नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश कार्यालयका अधिकारीहरूले प्रदेशमा विद्युत् पूर्वाधार विस्तार भइरहे पनि मर्मतका लागि आवश्यक यान्त्रिक क्रेन नहुँदा समस्या झन् जटिल बन्दै गएको जानकारी गराएका थिए । विशेषगरी ट्रान्समिसन लाइनका पोल, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनामा समस्या आउँदा आवश्यक उपकरण अभावका कारण अन्य प्रदेशबाट क्रेन ल्याउनुपर्ने बाध्यता रहेको उनीहरूले बताएका थिए ।

यसका कारण सामान्य मर्मतका कामसमेत लामो समयसम्म प्रभावित हुने गरेको थियो । मन्त्री श्रेष्ठले अनुगमनपछि तत्काल आवश्यक समन्वय अघि बढाउन निर्देशन दिएका थिए । सोही पहलस्वरूप नेपाल विद्युत् प्राधिकरणको भक्तपुरस्थित खरिपाटी ट्रान्सफर्मर वर्कसपमा रहेको यान्त्रिक क्रेन आवश्यक प्राविधिक परीक्षण तथा सर्भिसिङ सम्पन्न गरी कर्णाली प्रदेशमा पठाउने निर्णय गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

हालसम्म कर्णालीमा यस्ता उपकरणको अभाव हुँदा कुनै पनि ठूला प्राविधिक समस्या समाधान गर्न लुम्बिनी वा अन्य प्रदेशबाट क्रेन मगाउनुपर्ने अवस्था थियो । यसले मर्मत कार्य ढिलो हुनुका साथै विद्युत् सेवा पुनःस्थापनामा घण्टौँदेखि दिनौँसम्म समय लाग्ने गरेको थियो । विशेषगरी वर्षायाममा पहिरो, हावाहुरी र प्राकृतिक विपद्का कारण प्रसारण लाइनमा क्षति पुग्दा उपभोक्ताले लामो समय विद्युत् अभाव झेल्नुपर्ने अवस्था सिर्जना हुने गरेको थियो ।

अब प्रदेशमै यान्त्रिक क्रेन उपलब्ध भएपछि प्राविधिक टोलीलाई विद्युत् संरचनामा सहज पहुँच पुग्ने, मर्मत कार्य छिटो सम्पन्न हुने तथा विद्युत् अवरोधको अवधि उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ । यसले कर्णाली प्रदेशका उद्योग, व्यवसाय, सरकारी कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा सर्वसाधारण उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार स्थानीय तहबाट प्राप्त व्यावहारिक समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने नीति अनुरूप आवश्यक उपकरण व्यवस्थापनलाई तीव्रता दिइएको हो । मन्त्रालयले दुर्गम तथा भौगोलिक रूपमा विकट प्रदेशहरूमा विद्युत् सेवाको गुणस्तर सुधार गर्न आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापनलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

मन्त्रालयले विद्युत् सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले सेवा प्रवाहलाई थप प्रभावकारी, भरपर्दो र छिटो बनाउने लक्ष्यका साथ काम भइरहेको जनाएको छ । कर्णालीमा यान्त्रिक क्रेन उपलब्ध भएपछि विद्युत् मर्मत प्रणाली थप व्यवस्थित हुने, आकस्मिक अवस्थाको छिटो व्यवस्थापन गर्न सकिने र उपभोक्ताले गुणस्तरीय विद्युत् सेवा पाउने विश्वास गरिएको छ । साथै प्रदेशमा विद्युत् पूर्वाधारको दीर्घकालीन सुधार तथा सेवा प्रवाहमा उल्लेखनीय सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार