२०८३ साउन १४ , बिहीबार

कर्णालीमा सत्ता फेरबदल, शाही बने मुख्यमन्त्री



सुर्खेत । कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले बुधबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता शाही एमालेको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका नाै जना र नेकपाका १४ जना गरी २३ सांसदको समर्थन शाहीलाई रहेको छ ।

सभामुखलाई बाहेक गरी उक्त समर्थन जुटाइएको हो । मुख्यमन्त्री शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी समाहाली सकेका छन् । प्रदेशको विकास निर्माण र पूर्वाधार क्षेत्रमा काम गरेको अनुभवका आधारमा उहाँबाट नयाँ सरकार सञ्चालनको अपेक्षा गरिएको छ । केन्द्रमा नेकपा र एमालेबीच भएको तीनबुँदे सहमतिपछि कर्णाली प्रदेशबाट सत्ता समीकरण परिवर्तन सुरु भएको हो ।

यसअघि एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले केन्द्रमा भएको राजनीतिक सहमतिअनुसार पदबाट राजीनामा दिएका थिए । नयाँ मुख्यमन्त्री शाहीले प्रदेश सरकारलाई स्थायित्व दिँदै विकास निर्माण, सुशासन र जनसेवा प्रभावकारी बनाउने चुनौती सामना गर्नुपर्नेछ । सत्ता गठबन्धन परिवर्तनसँगै कर्णाली प्रदेश सरकारका आगामी नीति तथा कार्यक्रमप्रति राजनीतिक वृत्तमा चासो बढेको छ ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार