सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आउकी १६ वर्षीया किशोरी इनिसा विकमाथि भएको बलात्कारपछि हत्या प्रकरणले समाजलाई फेरि एकपटक स्तब्ध बनाएको छ । एक हप्तासम्म पनि घटनाको स्पष्ट सत्यतथ्य सार्वजनिक नहुनु, पोस्टमार्टम रिपोर्ट नआउनु र अनुसन्धानको गति सुस्त देखिनुले पीडित परिवार मात्र होइन, सम्पूर्ण समाजलाई आक्रोशित बनाएको छ । यस्तो जघन्य घटनामा राज्य संयन्त्रको ढिलासुस्तीले न्यायप्रतिको विश्वास कमजोर बनाउने खतरा हुन्छ । पीडित परिवार, आफन्त र अधिकारकर्मीहरू सडकमा उत्रन बाध्य हुनु आफैँमा राज्य संयन्त्रप्रतिको अविश्वासको संकेत हो । सुर्खेतदेखि काठमाडौंसम्म जुलुस, प्रदर्शन र ध्यानाकर्षणपत्र बुझाउने क्रमले जनआक्रोश कति गहिरो छ भन्ने देखाउँछ । दलित समुदायमाथि हुने हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै उठेका आवाजहरूले यो घटना केवल एउटा परिवारको पीडा मात्र नभई सामाजिक न्यायको प्रश्न बनेको स्पष्ट हुन्छ ।

इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँ पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जना नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । तर प्रारम्भिक अनुसन्धानले बलात्कारपछि मृत्यु भएको देखिए पनि सामूहिक बलात्कार भएको हो वा होइन भन्ने विषय अझै स्पष्ट छैन । यति गम्भीर घटनामा अझै पोस्टमार्टम रिपोर्ट सार्वजनिक नहुनु र अनुसन्धानबारे पर्याप्त जानकारी नदिनुले शंका र असन्तोष झन् बढाएको छ । सत्य के हो भन्ने कुराको शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन अपरिहार्य छ । इनिसाको मृत्यु केवल एउटा आपराधिक घटना मात्र होइन, हाम्रो समाजमा अझै जरा गाडेर बसेको महिला हिंसा र सामाजिक विभेदको कठोर उदाहरण पनि हो । ‘सरकार बदलियो, समाज बदलिएन’ भन्ने प्रदर्शनकारीहरूको नाराले यही पीडादायी यथार्थ झल्काउँछ । कानुन र नीतिका कागजी प्रतिबद्धताभन्दा पनि व्यवहारिक कार्यान्वयन आवश्यक छ । महिलामाथि हुने हिंसा र दलित समुदायमाथिको विभेद रोक्न राज्यले प्रभावकारी कदम चाल्न सकेन भने यस्ता घटनाले समाजलाई बारम्बार झस्काइरहनेछन् ।
सबैभन्दा पीडादायी पक्ष इनिसाको परिवारको अवस्था हो । बिहान ट्युसन पढ्न घरबाट निस्किएकी छोरी रक्ताम्मे अवस्थामा फेला परेको दृश्यले आमाको जीवन नै तहसनहस भएको छ । रोजगारीका लागि विदेशमा रहेका बुवाले छोरीको मृत्युको खबर सुनेर पनि तुरुन्त घर फर्किन नसक्नु पीडाको अर्को आयाम हो । यो केवल एक परिवारको दुःख होइन, हाम्रो सामूहिक असफलताको कथा पनि हो । अब राज्यले यो घटनालाई सामान्य आपराधिक घटना ठानेर बेवास्ता गर्न मिल्दैन । अनुसन्धानलाई तीव्र, निष्पक्ष र पारदर्शी बनाउनुपर्छ । दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गरिनुपर्छ । साथै पीडित परिवारलाई न्यायको अनुभूति गराउने वातावरण निर्माण गर्नुपर्छ । समाजमा शान्ति, सुरक्षा र न्यायको आधार बलियो बनाउने जिम्मेवारी राज्यकै हो । इनिसा विक प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही हुन सकेन भने यसले केवल एक घटनाको न्याय मात्र होइन, समग्र न्याय प्रणालीप्रतिको विश्वासलाई पनि गम्भीर रूपमा प्रभावित गर्नेछ । समयमै सत्य बाहिर ल्याएर दोषीमाथि कारबाही गर्नु राज्यको पहिलो दायित्व हो । त्यसैले सत्यतथ्य जानकारी सार्वजनिक गरी दोषिमाथि कडा भन्दा कडा कारवाही गर । जसले समाजमा फेरी यस्ता क्रुर घटना नघटुन् ।






