२०८३ वैशाख १७ , बिहीबार
सम्पादकीय

दोषीमाथि कारबाही गर



सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आउकी १६ वर्षीया किशोरी इनिसा विकमाथि भएको बलात्कारपछि हत्या प्रकरणले समाजलाई फेरि एकपटक स्तब्ध बनाएको छ । एक हप्तासम्म पनि घटनाको स्पष्ट सत्यतथ्य सार्वजनिक नहुनु, पोस्टमार्टम रिपोर्ट नआउनु र अनुसन्धानको गति सुस्त देखिनुले पीडित परिवार मात्र होइन, सम्पूर्ण समाजलाई आक्रोशित बनाएको छ । यस्तो जघन्य घटनामा राज्य संयन्त्रको ढिलासुस्तीले न्यायप्रतिको विश्वास कमजोर बनाउने खतरा हुन्छ । पीडित परिवार, आफन्त र अधिकारकर्मीहरू सडकमा उत्रन बाध्य हुनु आफैँमा राज्य संयन्त्रप्रतिको अविश्वासको संकेत हो । सुर्खेतदेखि काठमाडौंसम्म जुलुस, प्रदर्शन र ध्यानाकर्षणपत्र बुझाउने क्रमले जनआक्रोश कति गहिरो छ भन्ने देखाउँछ । दलित समुदायमाथि हुने हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै उठेका आवाजहरूले यो घटना केवल एउटा परिवारको पीडा मात्र नभई सामाजिक न्यायको प्रश्न बनेको स्पष्ट हुन्छ ।

इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँ पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जना नाबालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । तर प्रारम्भिक अनुसन्धानले बलात्कारपछि मृत्यु भएको देखिए पनि सामूहिक बलात्कार भएको हो वा होइन भन्ने विषय अझै स्पष्ट छैन । यति गम्भीर घटनामा अझै पोस्टमार्टम रिपोर्ट सार्वजनिक नहुनु र अनुसन्धानबारे पर्याप्त जानकारी नदिनुले शंका र असन्तोष झन् बढाएको छ । सत्य के हो भन्ने कुराको शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन अपरिहार्य छ । इनिसाको मृत्यु केवल एउटा आपराधिक घटना मात्र होइन, हाम्रो समाजमा अझै जरा गाडेर बसेको महिला हिंसा र सामाजिक विभेदको कठोर उदाहरण पनि हो । ‘सरकार बदलियो, समाज बदलिएन’ भन्ने प्रदर्शनकारीहरूको नाराले यही पीडादायी यथार्थ झल्काउँछ । कानुन र नीतिका कागजी प्रतिबद्धताभन्दा पनि व्यवहारिक कार्यान्वयन आवश्यक छ । महिलामाथि हुने हिंसा र दलित समुदायमाथिको विभेद रोक्न राज्यले प्रभावकारी कदम चाल्न सकेन भने यस्ता घटनाले समाजलाई बारम्बार झस्काइरहनेछन् ।

सबैभन्दा पीडादायी पक्ष इनिसाको परिवारको अवस्था हो । बिहान ट्युसन पढ्न घरबाट निस्किएकी छोरी रक्ताम्मे अवस्थामा फेला परेको दृश्यले आमाको जीवन नै तहसनहस भएको छ । रोजगारीका लागि विदेशमा रहेका बुवाले छोरीको मृत्युको खबर सुनेर पनि तुरुन्त घर फर्किन नसक्नु पीडाको अर्को आयाम हो । यो केवल एक परिवारको दुःख होइन, हाम्रो सामूहिक असफलताको कथा पनि हो । अब राज्यले यो घटनालाई सामान्य आपराधिक घटना ठानेर बेवास्ता गर्न मिल्दैन । अनुसन्धानलाई तीव्र, निष्पक्ष र पारदर्शी बनाउनुपर्छ । दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गरिनुपर्छ । साथै पीडित परिवारलाई न्यायको अनुभूति गराउने वातावरण निर्माण गर्नुपर्छ । समाजमा शान्ति, सुरक्षा र न्यायको आधार बलियो बनाउने जिम्मेवारी राज्यकै हो । इनिसा विक प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही हुन सकेन भने यसले केवल एक घटनाको न्याय मात्र होइन, समग्र न्याय प्रणालीप्रतिको विश्वासलाई पनि गम्भीर रूपमा प्रभावित गर्नेछ । समयमै सत्य बाहिर ल्याएर दोषीमाथि कारबाही गर्नु राज्यको पहिलो दायित्व हो । त्यसैले सत्यतथ्य जानकारी सार्वजनिक गरी दोषिमाथि कडा भन्दा कडा कारवाही गर । जसले समाजमा फेरी यस्ता क्रुर घटना नघटुन् ।

प्रकाशित मिति : २०८२ फागुन २९ गते शुक्रबार