२०८३ वैशाख ६ , आइतबार
सम्पादकीय

ऊर्जा विकासको नयाँ बाटो



कर्णाली नदीमा बिना बाँध, बिना सुरुङ र बिना वातावरणीय क्षति बिजुली निकाल्ने नयाँ प्रविधिको परीक्षण सुरु भएको छ । सुदूरपश्चिमको कैलाली र कर्णाली प्रदेशको सुर्खेतको सीमामा बग्ने कर्णाली नदीमा ‘हाइड्रोकाइनेटिक’ प्रविधि प्रयोग गरी विद्युत उत्पादन गर्ने परीक्षण भइरहेको हो । यो नेपालमै पहिलो पटक प्रयोग हुन लागेको प्रविधि हो । जसले नदीको प्राकृतिक बहावलाई कुनै अवरोध नगरी पानीको गतिबाट टर्बाइन घुमाएर विद्युत उत्पादन गर्छ । कर्णालीको बगिरहेको पानीमाथि सुरु भएको यो प्रविधिको परीक्षण कार्य केवल एउटा सानो परियोजना मात्रै होइन । यो नेपालको ऊर्जा सोचमा सम्भावित रूपान्तरण कार्य पनि हो । दशकौँदेखि हामीले जलविद्युत विकासलाई बाँध, सुरुङ र विशाल संरचनासँग जोडेर हेर्दै आएका छौँ । यसले ऊर्जा उत्पादनमा उल्लेखनीय योगदान त दिएको छ । तर सँगै वातावरणीय क्षति, विस्थापन, ढिलो निर्माण र बढ्दो लागतजस्ता समस्या पनि उत्पन्न गरेको थियो । के ऊर्जा उत्पादनका लागि सधैं प्रकृतिलाई परिवर्तन गर्नैपर्छ ? भन्ने प्रश्न उठिरहेकाबेला कर्णालीमा भइरहेको यो परीक्षणले यही प्रश्नको वैकल्पिक उत्तर पनि प्रस्तुत गरेको छ । बिना बाँध, बिना सुरुङ, बिना नदीको बहावमा हस्तक्षेप कार्य पानीको गतिलाई उपयोग गरेर विद्युत उत्पादन गर्ने अवधारणा आफैंमा सरल र प्रभावकारी देखिन्छ ।

यो परियोजनाअन्तर्गत करिब एक सय किलोवाट क्षमताको विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। सामान्य भाषामा बुझ्दा, जसरी हावाको गतिले पंखा घुम्छ, त्यस्तै नदीको बगिरहेको पानीको गतिले पानीमुनि जडान गरिएको टर्बाइन घुमाउँछ र त्यसबाट बिजुली उत्पादन हुन्छ । यसमा नदीको दिशा परिवर्तन गर्नुपर्दैन, न त पानी थुन्नुपर्ने हुन्छ । परियोजनाको प्राविधिक संरचना पनि रोचक छ । बिजुली उत्पादनका लागि प्रयोग गरिने डुंगाशैलीका दुई ठूला संरचना रुपन्देहीको बुटवलमा निर्माण गरिएका हुन् । मेघा हाइड्रो एण्ड इन्जिनियरिङले यी संरचनाहरू तयार पारेर ट्रकमार्फत कैलालीको मोहन्याल गाउँपालिका–७, साँझ बसेरी पु¥याएको हो । अहिले कर्णाली नदीको बगरमा ती संरचनाहरू जडान गर्ने, टर्बाइन फिट गर्ने र परीक्षणको अन्तिम तयारी गर्ने काम भइरहेको छ । यो प्रविधि प्राकृतिक सन्तुलनसँग सहअस्तित्वमा आधारित छ । यस्तो दृष्टिकोण आजको जलवायु संकट र वातावरणीय संवेदनशीलताको सन्दर्भमा अझ सान्दर्भिक बन्छ । तर कुनै पनि नयाँ प्रविधि जस्तै, यसप्रति उत्साहसँगै यथार्थपरक मूल्यांकन पनि आवश्यक छ । विशेषगरी दुर्गम क्षेत्रहरूमा, जहाँ ठूला आयोजना सम्भव छैनन् वा प्रसारण लाइन पु¥याउन कठिन छ, त्यहाँ यस्ता साना, छरितो र स्थानीय समाधानहरू अत्यन्त उपयोगी हुन सक्छन् ।

अर्कोतर्फ, प्रविधिको दीर्घकालीन स्थायित्व, बाढी तथा प्राकृतिक विपद्सँग जुध्ने क्षमता, र आर्थिक व्यवहार्यता जस्ता पक्षहरू पनि गम्भीर रूपमा परीक्षण हुन बाँकी छन् । विशेषगरी कर्णालीजस्ता तीव्र बहाव र मौसमी उतारचढाव भएका नदीहरूमा यस्ता संरचनाहरू कत्तिको सुरक्षित र टिकाउ हुन्छन् भन्ने प्रश्नको स्पष्ट उत्तर आवश्यक छ । यसका साथै स्थानीय समुदायको सहभागिता र स्वामित्व सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ । यस परियोजनामा अन्तर्राष्ट्रिय सहकार्यको उपस्थिति सकारात्मक संकेत हो । तर दीर्घकालीन रूपमा नेपालले यस्ता प्रविधिमा आत्मनिर्भरता विकास गर्नुपर्ने आवश्यकता पनि स्पष्ट छ । आफ्नै प्राविधिक क्षमता र नवप्रवर्तनलाई सुदृढ नगरी दिगो ऊर्जा भविष्य सम्भव हुँदैन । किनकी कर्णालीमा भइरहेको यो परीक्षणले नेपाललाई ऊर्जा विकासको नयाँ बाटो देखाएको छ । जहाँ विकास र प्रकृति परस्पर विरोधी होइनन्, बरु सहयात्री हुन सक्छन् भन्ने सन्देश दिएको छ । यदि यो प्रयास सफल भयो भने, यसले केवल केही किलोवाट विद्युत उत्पादन गर्ने होइन, बरु ऊर्जा क्षेत्रमा सोच्ने तरिका नै परिवर्तन गर्नेछ । त्यसैले अब यसलाई उत्साहका साथ स्वागत गर्दै, गम्भीर अध्ययन, परीक्षण र नीतिगत समर्थनमार्फत यस सम्भावनालाई दिगो सफलतामा रूपान्तरण गर्न जोड देऊ ।

 

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार